पाकिस्तानको खराब प्रदर्शन, टोली छनोट र खेलाडीको प्रदर्शनमाथि उठ्यो प्रश्न

नेपालभ्युज

पाकिस्तानको खराब प्रदर्शन, टोली छनोट र खेलाडीको प्रदर्शनमाथि उठ्यो प्रश्न

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतसँग पराजित भएपछि पाकिस्तानी टोलीको निकै आलोचना भइरहेको छ ।

पाकिस्तानी टोलीको हारबाट फ्यानहरू निकै निराश छन् । सामाजिक सञ्जालमा खेलाडीको चर्को आलोचना भइरहेको छ । हारपछि पाकिस्तानका पूर्व क्रिकेट खेलाडीहरूबाट विभिन्न किसिमका प्रतिक्रियाहरू आएका छन् ।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई रोमाञ्चक खेलमा ६ रनले पराजित गरेको थियो । कुनै बेला खेल पाकिस्तानको नियन्त्रणमा छ जस्तो लाग्थ्यो तर, भारतले अपसेट बनाएर पराजित गर्‍यो ।

वर्षाले प्रभावित खेलमा भारत १९ ओभरमा ११९ रनमा अलआउट भएको थियो भने पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सकेको थियो ।

के भने शोएब अख्तर र इन्जमाम उल हकले ?
अन्तिम समयमा जितको मौका गुमाएपछि पाकिस्तानका पूर्व क्रिकेट खेलाडीहरू आक्रोशित देखिएका छन् । उनीहरूले आफ्नो देशको टोलीको क्षमतामा प्रश्नचिन्ह खडा गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा धेरै खेलाडीले टोली छनोट र खेलाडीको प्रदर्शनमा प्रश्न उठाएका छन् ।

पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले आफ्नो युट्युब च्यानलमा भने, ‘पाकिस्तानी टोलीले खेलमा आफ्नो दिमाग प्रयोग गरेन । एक बलले भारतले खेल पल्टायो । यसबाट मैदानमा प्रयोग गर्ने पाकिस्तानी टोलीको इच्छाशक्ति र नियतमाथि प्रश्न उठेको छ ।’

‘यो साँच्चै दु:खद् छ,’ उनले भने, ‘पाकिस्तानले यो खेल जित्नुपर्ने थियो र उसले जितिसकेको पनि थियो । ४६ बलमा ४६ रन बनाउनु परेको थियो जसमा सात ब्याट्सम्यान थिए । तर, उनीहरूले खेल जिताउन सकेनन् ।’

जबकि पूर्व ब्याट्सम्यान इन्जमाम उल हकले आफ्नो युट्युब च्यानल ‘म्याच विनर’मा भनेका छन्, ‘पाकिस्तानी टिमले राम्रो खेल्यो तर, भारतीय टिमले अझ राम्रो खेल्यो ।’

उनले भने, ‘पहिलो इनिङ्समा पाकिस्तानी बलरहरूले राम्रो खेले र भारतलाई १२० रनमा सीमित गरे । तर, दोस्रो इनिङ्समा भारतीय बलरको प्रदर्शन त्यो भन्दा राम्रो थियो । कम स्कोर भए पनि भारतीय टोलीले कहिल्यै हिम्मत हारेन ।’

उनले अघि भने, ‘पाकिस्तानले ब्याटिङ गर्दा औसत सात रनभन्दा माथि जान दिनु हुँदैन थियो । तर, भारतले दबाब दिन थाल्यो र स्थिति कता पुग्यो भन्ने कुरा पाकिस्तानले बुझ्न सकेन । पाकिस्तानको पनि हातमा विकेट थियो र उसले कतै मौका लिन सकेन ।’

‘पाकिस्तानको ब्याटिङ प्रदर्शन खराब थियो । इमाद वासिमले खराब ब्याटिङ गरे । उनी झण्डै दुई–तीन पटक रनआउट हुनबाट जोगिए । २३ बल खेलेर एउटै चौका प्रहार गरेनन् । अब पाकिस्तानले टुर्नामेन्टमा आफू कहाँ छ भनेर बसेर सोच्नुपर्नेछ ।’

अर्का पूर्वक्रिकेटर शाहिद अफ्रिदीले भने, ‘मसँग शब्द छैन, म केवल आफ्नो पश्चाताप व्यक्त गर्न सक्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved