काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सोमबार मन्त्रिमण्डल बिस्तार हुने भएको छ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएको ५४ दिनपछि सुदूरपश्चिम सरकार बिस्तार गर्न शीर्षस्थ नेतृत्वमा कुरा मिलेको हो ।
सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट ओमविक्रम भाट र अक्कल रावल मन्त्री हुने भएका छन् । विश्वासको मत दिएर पनि सरकारमा सहभागी हुन नमानीरहेको एमालेका प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल र प्रदेश सभा सदस्य वीरबहादुर थापा मन्त्री हुने भएका छन्।
सुदूरपश्चिममा एमालेले सरकारमा सहभागी हुन नमानेपछि एमालेसँग एकीकृत समाजवादीको दूरी थप बढेको थियो ।
दलहरूबीच भएको सहमति अनुसार एमालेले आर्थिक मामिला र आन्तरिक मामिला मन्त्रालय लिने भएको छ भने माओवादीले सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने भएका छन् ।
हाल मुख्यमन्त्री सोडारी नेतृत्वको मन्त्रीमण्डलमा नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री रहेका छन्।
Facebook Comment
Comment