विश्वकप छनोटमा ५ खेलमा १८ गोल : किन खस्किरहेको छ नेपालको फुटबल ?

विश्वकप छनोटमा ५ खेलमा १८ गोल : किन खस्किरहेको छ नेपालको फुटबल ?

काठमाडौं । गत वर्ष असोज ३० गते सन् २०२६ को विश्वकप फुटबल छनोटको पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो । घरेलु मैदानमा नै लाओसलाई १–० को गोलअन्तरले पराजित गरेको थियो । खेलको ५३ औं मिनेटमा मनिष डांगीले गरेको गोल नै नेपालको लागि निर्णायक बनेको थियो ।

त्यसअघि लाओसविरुद्ध घरेलु मैदानमा भएको पहिलो खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन ।  खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो खेलमा जित हासिल गरेसँगै नेपाल दोस्रो चरणमा पुग्यो । दोस्रो चरणमा नेपालले बहराइन, यूएई र यमनसँग समूह ‘एच’मा प्रतिस्पर्धा गर्ने पक्का भयो ।

दोस्रो चरणमा नेपालले साउदी अरेबियाको दाम्माम सहरमा बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्‍यो । दोस्रो चरणको पहिलो खेलमा ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि ४–० ले नै पराजित भयो ।

यद्यपि, दोस्रो चरणमा हालसम्मको नेपालको यात्रा निराशाजनक नै रह्यो ।

पछिल्लो सबै खेलमा नेपालले कुल १८ गोल खाँदा १ गोल पनि गर्न सकेको छैन ।

यसबीचमा नेपालले ५ खेल खेलिसकेको छ । नेपाल यमनविरुद्ध पहिलो खेलमा ०–२, यूएईविरुद्ध पहिलो खेलमा ४–०, यूएईविरुद्ध दोस्रो खेलमा ४–० ले पराजित भयो । त्यस्तै, बहराइनविरुद्ध पहिलो खेलमा नेपाल ५–० र दोस्रोमा ३–० ले पराजित भयो ।

लगातार प्राप्त भइरहेको यस किसिमको नतिजाले नेपाली फुटबलको दशा र दिशाको संकेत गर्छ ।

यही विषयमा हामीले नेपाली राष्ट्रिय टोलीका फुबटल खेलाडी नवयुग श्रेष्ठ तथा वर्षौ देखि नेपालका विभिन्न क्लब तथा राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका मेघराज केसीसँग कुराकानी गरेका छौँ ।

नवयुग श्रेष्ठ

नेपाली राष्ट्रिय टोलीका फुबटल खेलाडी नवयुग श्रेष्ठले टोलीमा आएको परिवर्तनले पनि नतिजामा असर गरेको बताए । भने, ‘एक दुई बाहेक सबै नयाँ खेलाडीहरु नै छन् । जसकारण नयाँ र पुरानो दुवै किसिमका खेलाडीलाई मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । यद्यपि, नेपाली टोलीको प्रदर्शन जस्तो हुनुपर्थ्यो, त्यसभन्दा निकै खस्केको महसुस भयो ।’

उनले लङ रेन्ज, पासिङ सट्सका बेला खेलाडीबीच हुनुपर्ने तालमेलमा अभाव महसुस गरेको बताए ।  ‘खेलाडीमा देखिनुपर्ने तालमेल नदेखिएको जस्तो लागेको छ । लङ रेन्जको पासमा भने पक्कै थियो । विङ्गरलाई पास दिँदा त्यस्तो देखिएको थियो । बल पोजिसिनिङ पनि समस्या देखियो । जति समय बललाई आफूसँग राख्नुपर्ने थियो । त्यो पनि राख्न नसकिएको जस्तो लाग्यो’, उनले भने ।

श्रेष्ठले प्रशिक्षकले ‘कम्प्याक्ट’ टोली नपाएको पनि बताए । ‘प्रशिक्षकले कस्तो रणनीति लिएर अगाडि बढिरहनुभएको छ भन्ने त मलाई थाहा भएन । तर, अहिलेसम्म पनि एउटा कम्प्याक्ट टोली पाउन नसकेको हो कि जस्तो देखिन्छ’, उनको विश्लेषण छ ।

खेलाडीहरुलाई जित्नको लागि मैदानमा उतार्नुको सट्टा ट्रायल गरी क्षमता थाहा पाउने योजना देखाएको नवयुगले बताए । भने, ‘केवल खेलाडीहरुको ‘ट्रायल’ गरिरहेको अनुभूति हुन्छ । केवल एउटै खेलाडीलाई एउटै पोजिसनमा निरन्तरता नदिएको देखिन्छ । कहिले कुन खेलाडी, कहिले कुन खेलाडी परिवर्तन भइरहेको हुन्छ । कुनै खेलाडी राम्रो छ भने उसलाई विस्तारै टोलीमा अटाउनुपर्ने हो । तर, खेलमा पनि सेलेक्सनको शैलीमा जाँचिरहेको छनक पाइन्छ । एउटा प्रयोग मात्र भइरहेको जस्तो देखिन्छ ।’

यस्तै, नेपालका अनुभवी प्रशिक्षक मेघराज केसीले पनि नेपाली राष्ट्रिय फुटबल टोलीको स्तर खस्केको बताए । ‘यूएईविरुद्धको खेलले नेपालको स्तर निकै तल गएको देखियो । प्रशिक्षकले पनि आफूसँग भएको क्षमतवान् खेलाडीको सही सदुपयोग नगरेर ‘ट्रायल’ गरिरहेको जस्तो देखियो’, उनले सुनाए ।

केसीले नेपाली टोलीको कमजोर पक्ष केलाउनेभन्दा पनि धेरै स्थानमा पछि परेको बताए । उनले भने, ‘कमजोर पक्षभन्दा पनि धेरै स्थानमा पछाडि देखिएको छ । विपक्षीको स्तर पनि आकलन नगरीकन खेलिएको जस्तो देखियो । त्यही भएर एउटा कमजोरीभन्दा पनि धेरै स्थानमा सुधारको आवश्यकता देखिन्छ ।’

आफूले अनुभव गरेको टोलीको कमजोरी केलाउँदै उनले भने, ‘न त हामीले डिफेन्समा राम्रो गर्न सकिरहेका छौँ, न त मिडफिल्डमा बल होल्ड गरेर अगाडि जान सकिरहेका छौँ । सबै ठाँउमा पछि परेको देखिन्छ ।’

उनले नेपाली राष्ट्रिय टोलीको अवस्था निकै दयनीय रहेको बताए । ‘भन्न त नहुने हो तर मलाई नेपाली फुटबल हेर्दादेखिको सबैभन्दा झुर प्रदर्शन अहिलेकै लागि रहेको छ । हिजोको खेलको मात्रै कुरा होइन । केही समययता हामीले खेलेका खेललाई हेर्दा पनि यस्तो लागेको हो,’ प्रशिक्षक केसीले बताए ।

उनले प्रशिक्षकले अत्याधिक प्रयोग मात्र गरेको तर प्रयोगले नतिजा दिन नसेको बताए । ‘प्रशिक्षकलाई हेर्ने हो भने पनि प्रत्येक पटक नयाँ खेलाडीलाई परीक्षण गरिरहेको देखिन्छ । प्रत्येक म्याचलाई मैत्रीपूर्ण जसरी खेलाएर त भएन । सही ठाँउमा सही खेलाडीलाई प्रयोग नभइरहेको जस्तो लागिरहेको छ । रणनीति बनाउने समयमा नै हामी चुकिरहेको जस्तो देखियो, ’ उनले भने ।

प्रशिक्षक केसीले नेपाली टोलीमा तालमेलको कमीभन्दा पनि टोलीमा आएको परिवर्तन नै मुख्य विषय भएको बताए ।

मेघराज केसी

‘नेपाली टोलीमा तालमेल नै नभएको भन्ने होइन । विगतमा पनि यो कमी नेपाली टोलीमा खासै देखिएको पनि छैन’, प्रशिक्षक केसीले भने, ‘तर, अहिले हाम्रो मर्काको विषय के हो भने, टोलीमा एकैचोटि अत्यधिक खेलाडी परिवर्तन हुँदा टोली जम्न सक्दैन । अहिलेको अवस्थामा धेरैजना खेलाडी एकैपटक परिवर्तन भएको देखिन्छ । कति खेलाडी त नयाँ छन्, जसलाई राष्ट्रिय फुटबल टोलीको अनुभव पनि छैन । यसकारण नतिजा मात्र अपेक्षा गरेर पनि हुन्न ।’

उनले खेलाडीमा क्षमता भए पनि राष्ट्रिय टोली एउटा ‘ट्रान्जिसनल फेज’ तिर गइरहेको तर नेपाललाई भरपर्दो टोलीको आवश्यकता भएको बताए । ‘संसारमा जुन देशको टोलीमा परिवर्तन आउँदा नतिजा खुलेर आउँदैन, यो सही हो । त्यही भएर हाम्रो खेलाडीमा क्षमता नभएको होइन, अनुभवको कमी भएको हो । नयाँ खेलाडीहरु परिपक्क भएर खेल्न भने पक्कै केही समय लाग्छ । यो ‘ट्रान्जिसनल फेज’ भएकोले पनि समस्या देखिएको हो । समस्या आउँछ नै । स्वाभाविक पनि हो’, प्रशिक्षक केसीले बताए ।

प्रशिक्षक केसीले हरेक खेललाई मैत्रीपूर्ण खेलको रुपमा प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको बताए ।

‘विगतको ५ खेललाई नै हेर्ने हो भने पनि प्रत्येक खेललाई मैत्रीपूर्ण खेलको रुपमा हेरेको देखिन्छ । टोलीमा अलिक जमिसकेको खेलाडीहरुलाई परिस्थिति अनुकूल प्रयोग गर्नुपर्ने हो’, प्रशिक्षक केसीले भने, ‘हिजोकै खेललाई पनि हेर्ने हो भने डिफेन्समा नयाँ खेलाडीहरुलाई अवसर प्रदान गरिएको थियो । नतिजा झ्यामझ्याम गोल खायौँ । त्यस्तो स्थानमा अलिक अनुभवी खेलाडीहरुलाई परिचालन गर्नुपर्ने थियो । तर, त्यस्तो भएन ।’

उनले सनिश श्रेष्ठको प्रदर्शन भने उत्कृष्ट भएको बताए । व्यक्तिगत रुपमा खेलाडीको प्रदर्शन आकलन गर्ने हो भने सनिश श्रेष्ठको प्रदर्शनबाट आफू निकै प्रभावित भएको उनले बताए ।

‘सनिशको प्रदर्शन अरुको तुलनामा निकै राम्रो थियो । उसले मोफसल खेल्दा देखि नै उनको प्रदर्शन राम्रो भइसकेको पनि थियो । सनिशले पटकपटक अवसर सिर्जना गर्न पनि निकै प्रयास गरेको देखियो । राष्ट्रिय टोलीमा परिपक्क खेलाडीको रुपमा उनलाई देखिएको थियो’, केसीले भने ।

नेपालले पर्याप्त मात्रामा अवसर सिर्जना पनि गर्न नसकेको प्रशिक्षक केसीले बताए । ‘हिजो ३७ औं र ३८ औं मिनेटमा क्रसबारमा बल लागेर गोल हुन नसक्दा अवसर गुम्यो । तर, त्यस्तो अवसर ४–५ पटक सिर्जना गर्न सकेको भए चाँहि नेपालले पनि खेल्यो है भन्ने अवस्था हुन्थ्यो’, उनले भने ।

फिनिसिङमा पो धैरै काम गर्नुपर्ने आवश्यकता देखिएको हो कि भने प्रश्नमा प्रशिक्षक केसीको जवाफ छ- ‘फिनिसिङमा त नेपाल धैरै लामो समयदेखि नै संघर्ष गरिरहेको थियो । तर, हिजोको खेलमा त फिनिसिङको समस्या भन्न नमिल्ला, अवसर सिर्जना गरेर गोल गर्न नसकेको भए पो फिनिसिङ भएन भन्न मिल्थ्यो । हिजो त अवसर नै सिर्जना भइरहेको थिएन । यूएई पक्कै पनि हामीभन्दा बलियो प्रतिद्वन्द्वी हो । तर, नेपाली टोलीको खेलको स्तर योभन्दा माथि हुने गर्थ्यो ।’

नेपालमा फुटबल प्रसिद्ध खेल भए पनि यसको ओरालो यात्राबारे केसीले भने, ‘फुटबल गाँउगाँउमा खेलिने खेल हो । सबैले रुचाउने खेल हो । तर, प्रसिद्ध खेलको रुपमा रहेको फुटबलको स्तरोन्नितका लागि केही पनि काम भइरहेको देखिँदैन । सबैलाई यो खेलको विकास गर्नु पर्छ भन्ने छ । खेलकुद परिषद्, एन्फा सबैलाई यसको महत्त्व थाहा छ । तर, स्तरोन्नितको लागि सोच्नुपर्ने हो’, उनले भने ।

छोटो समयमा अफगानीस्तानले गरेको प्रगतिलाई नेपालका सम्बन्धित निकायले अध्ययन गर्नुपर्ने केसीको सुझाव छ । ‘भन्दा दुःख लाग्छ तर हाम्रो फुटबलको स्तर विकास गर्नको लागि कहीँ कतैबाट काम गरेका छैनौं । नेपालमा फुटबलको विकासको लागि चासो नै नदेखाएको जस्तो देखियो । सकेसम्म बाहिर नै जाओस् भन्ने जस्तो अवस्था देखिएको छ’, प्रशिक्षक केसीले विदेश पलायन भएका खेलाडीको अवस्था झल्काउँदै भने ।

प्रशिक्षक केसीले फुटबलको खेलबारे अवगत भए पनि पर्याप्त योजना गर्न नसक्नु ठुलो कमजोरी भएको बताए । ‘कुन खेल कहिले हुन्छ थाहा हुँदाहुँदै पनि आफ्नो खेलाडीलाई कसरी बचाउने ? कस्तो किसिमको टोली निर्माण गर्ने ? कुन खेलाडीलाई कसरी प्रयोग गर्ने ? भन्ने विषयमा नै कुनै पनि कार्य नभएको जस्तो देखियो । त्यसकारण सहभागीता जनाएर औपचारिकता मात्र पूरा गरेको जस्तो देखियो । औपचारिकता मात्र पूरा गरेको ठाँउमा नतिजाको अपेक्षा कसरी आउँछ त ?’, उनको प्रश्न छ ।

अन्तिम खेलमा नेपालले कस्तो रणनीति अपनाउन आवश्यक छ त भन्ने जिज्ञासामा प्रशिक्षक केसीले भने, ‘यमनविरुद्धको खेलमा भने प्रतिद्वन्द्वीको क्षमता अध्ययन गरेर, विश्वकप छनोटलाई चाहिने जति गम्भीर हुनुपर्‍यो । २३ खेलाडीबाट टोलीमा भएका उत्कृष्ट खेलाडीलाई पहिचान गरेर टोली बनाउनुपर्‍यो । सोही अनुरुप रणनीति बनाएर एक खेल जित्न सक्यौँ भने अलिकति इज्जत रहन्छ । अब प्रशिक्षक र खेलाडीले आफूले निभाउनुपर्ने भूमिका पूर्ण रुपमा देखाउन नसकेमा जुनसुकै राष्ट्रसँग पनि त हारिन्छ ।’

अब जेठ ११ गते नेपालले यमनविरुद्ध दोस्रो चरणको अन्तिम खेल खेल्नेछ ।

समूह ‘एच’को अंक तालिकामा नेपाल बिना अंक पुछारमा छ । लगातार ५ खेल जित हासिल गरेको यूएई १५ अंकसहित शीर्ष स्थानमा छ । ४ खेलबाट ३ अंक जोडेको बहराइन ९ अंकसहित दोस्रो स्थानमा छ । ४ खेलमा १ मा मात्र जित हासिल गरेको यमन तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved