जनकपुरधाम । प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् ।
शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा भने सुरुमै दलित समुदायकी सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् ।
मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीबाट सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंग राज्यमन्त्री बनेकी छन् । राज्मन्त्री खंगले आफ्नो समुदायबाट आफू पहिलोपटक मन्त्री बन्दा ठूलो जिम्मेवारी काँधमा आएको बताइन् ।
‘मेरो पार्टी जनमत पार्टीले सबै मधेशीहरुको पक्षमा काम गर्छ । कुनै एक जातको पक्षमा होइन सबैको सहभागिता र समावेशितालाई सम्मान गरेको छ,’ राज्यमन्त्री खंगले भनिन्,‘मैले आफ्नो क्षमताअनुसार काम गर्नेछु ।’
१४ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा ३ जना महिलाले मन्त्रीको जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीले लुंगेली, नाउपाले चौधरी, र नेपाल संघीय समाजवादीले अन्सारीलाई मन्त्री बनाएको छ । यता एमालेबाट शारदादेवी थापाले राज्यमन्त्रीको शपथ लिँदा जनमतकी रन्जु कुमारी मंडल खङ्ग बिना विभागीय राज्यमन्त्रीको रुपमा सरकारमा प्रवेश गरेकी छन् ।
एमालेबाट मन्त्रीको लागि प्रवल सम्भावना रहेकी भनिएकी शारदादेवी थापा यसपटक पनि राज्यमन्त्रीमै सीमित भएकी छन् । महोत्तरीबाट प्रदेश सभामा लगातार दोस्रो पटक निर्वाचित भएकी थापा फेरि राज्यमन्त्रीमै अड्किएकी हुन् ।
यसअघि सरोज यादव नेतृत्वको सरकारमा पनि उनी राज्यमन्त्रीनै थिईन् । आन्तरिक मामिला तथा कानूनमन्त्रीको लागि नाम चर्चामा आएपनि सो मन्त्रालय अर्कै दलको भागमा परेपछि उनी यसपटक पनि राज्यमन्त्रीमै सिमित रहिन् ।
Facebook Comment
Comment