काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ ।
घरेलु मैदान अयोग्य भएपछि साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले नेपाललाई हराएको हो । यो सहित नेपालको लगातार पाँचौ हार हो ।
अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४–० ले नै पराजित भएको थियो ।
साउदी अरेबियाको दमाम रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४–० ले पराजित भएको हो । विश्वकप छनोटको अर्को चरणमा पुगेको यूएई यो नतिजाले १५ अंक बटुल्दै समूह विजेता बनेको छ ।
नेपाली टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले युएई जस्तो टोली विरुद्ध नेपाली खेलाडीले तुलनात्मक रूपमा पहिलेभन्दा राम्रो खेलेको प्रतिक्रिया दिए । खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा उनले गोल गर्ने २ वटा अवसर सदुपयोग गर्न नसक्नु दुर्भाग्य भएको बताए ।
नेपालले अब समूहको अन्तिम खेल पनि सोही रंगशालामा यमनसँग आगामी जुन ११ तारिखमा खेल्नेछ ।
नेपाल र यमन दुवैका लागि सो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
नेपालले पहिलो खेलमा यूएईसँग ४–०, दोस्रो खेलमा यमनसँग २–०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३–० गोलको हार ब्यहोरेको थियो
Facebook Comment
Comment