जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार साँझ शुक्रबार बिहान १० बजेभित्र सरकारमा दाबी पेस गरिसक्न भनेकी छन् ।
बुधबार पाँचौँपटक विश्वासको मत लिएका मुख्यमन्त्री सरोजकुमार यादवले सदनको विश्वास पाएनन् । सरकार कायम रहनका लागि उनलाई कम्तिमा ५४ सांसदले समर्थन गर्नुपर्थ्यो तर, ५० सांसदले मात्रै समर्थन जनाए । यससँगै यादव नेतृत्वको सरकार ढलेको छ ।
यसपछि प्रदेश प्रमुख भण्डारीले बहुमतको नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न उनले भनेकी छन् ।
प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवद्वारा जारी सूचनामा भनिएको छ, “संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रबार बिहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीज्यूले आह्वान गर्नुभएको बेहोरा जानकारीको लागि अनुरोध छ ।”
जनता समाजवादी पार्टी, नेपालका नेता यादव १७ महिनाअगाडि मुख्यमन्त्री नियुक्त भएका थिए । तर, आज विश्वासको मत नपाएसँगै उनी स्वत: पदमुक्त भएका छन् ।
अब प्रदेशमा केन्द्रीय सत्ता समीकरणअनुसार एकठाउँ रहेका दलहरूले संयुक्त सरकार बनाउनेछन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नयाँ सरकार बनाउनेछन् । यी दलहरूबीच सरकारको नेतृत्व जनमतलाई दिने सहमति भइसकेको छ । जनमतबाट दलका नेता महेश प्रसादयादव मुख्यमन्त्री बन्दैछन् ।

Facebook Comment
Comment