काठमाडौं । लोक जनशक्ति पार्टी (एलजेपी) की नेतृ शाम्भवी चौधरी भारतको लोकसभाकी कान्छी सांसद बनेकी छन् ।
उनी बिहारको समस्तीपुरबाट निर्वाचित भएकी हुन् । उनले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार सन्नी हजारीलाई १ लाख ८७ हजारभन्दा बढी मन्तातरले पराजित गरेकी हुन् ।
चौधरीले ५ लाख ७९ हजार ७८६ मत पाउँदा हजारीले ३ लाख ९२ हजार ५३५ मत पाए ।
विजयी भएपछि चौधरीले जनताको अपेक्षा पूरा गर्न प्रयास गर्ने बताएकी छन् ।
‘म समस्तीपुरका जनतालाई धन्यवाद व्यक्त गर्दछु । म भन्न चाहन्छु कि उनीहरूले सही निर्णय लिएका छन् र अब म उनीहरूको अपेक्षा पूरा गर्ने प्रयास गर्नेछु ।’, उनले भनिन्, ‘समस्तीपुरले मलाई ठूलो जित दिएको छ, म यहाँ छोरीको रूपमा आशिर्वाद लिन आएको थिएँ र आज उनीहरूले मलाई आफ्नो छोरीको रूपमा स्वीकार गरेका छन् ।’
को हुन् शाम्भवी ?
चौधरी भर्खर २५ वर्षकी भइन् । उनी तेस्रो पुस्ताको राजनीतिज्ञ हुन् ।
चौधरीका पिता अशोक चौधरी जनता दल (जेडीयू)का नेता हुन् । उनी नितिश कुमारको मन्त्रिपरिषद्का सबैभन्दा प्रभावशाली मन्त्रीहरूमध्ये एक हुन् । उनका बुबा कांग्रेसबाट जेडीयूमा गएका थिए ।
चौधरीका हजुरबुवा स्वर्गीय महावीर चौधरी पनि कांग्रेस सदस्य थिए । पार्टीले बिहारमा शासन गर्दा उनी राज्यमन्त्री थिए ।
शाम्भवी चौधरीले एक पुरानो अन्तर्वार्तामा आफूलाई राजनीतिमा रूचि रहेको बताएकी थिइन् ।
‘कुनै पनि बाबुले छोरीका लागि जनादेश जित्न सक्दैनन् । यसका लागि मैले कडा मेहनत गर्नुपर्छ । मैले यो सिट लोकसभामा प्रतिनिधित्व गर्ने अवसर पाउँछु वा नपाउने भन्ने निर्णय समस्तीपुरका जनताले गर्नेछन्, मेरो परिवारले होइन ।’ उनले भनेकी थिइन् ।
चौधरीले प्रतिष्ठित दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मास्टर्स अफ आर्ट्स (समाजशास्त्र) गरेकी छिन् ।
उनले सायन कुणालसँग विवाह गरेकी छन् । कुणाल समाज सुधारक र पूर्व आईपीएस अधिकारी आचार्य किशोरका छोरा हुन् ।
Facebook Comment
Comment