काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले संघीय संसद्मा सांसदहरूको संख्या बढी भएको टिप्पणी गरेका छन् । निर्वाचित र समानुपातिक गरेर सांसदहरूको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको उनको भनाइ छ ।
‘मैले हिजो सदनमा पनि बोलेको छु । यो (सांसदको) संख्या नै बढी भयो । सुविधा पनि छैन, अध्ययन पनि छैन । सख्या बढी भयो । एकातिर इलेक्सनबाट लडेको छ । अर्कातिर समानुपातिकबाट आएको छ । एकातिरकालाई जनतासँग कसरी जाने भन्ने छ ? के लिएर जाने भन्ने छ ? र, संख्या बढी भएको कारणले पनि यो समस्या आएको हो’, उनले भने ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भण्डारीले सांसदहरूको अध्ययन र अनुसन्धानमा कमी हुँदा पनि बजेट लगायतका विषयमा समस्या देखिने गरेको बताए ।
उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव पनि दिए ।
सांसद भण्डारीले स्थिर सरकार नहुँदा मुलुकमा धेरै समस्या देखिएको पनि उल्लेख गरे ।
Facebook Comment
Comment