भारतीय निर्वाचनमा कस्तो छ ‘नोटा’को प्रभाव ?

भारतीय निर्वाचनको एउटा उल्लेखनीय पक्ष छ- ‘नोटा’ । यस विकल्पमार्फत् मतदातले उपलब्ध कुनै पनि उम्मेदवारप्रति असहमति व्यक्त गर्न सक्नेछन् । सन् २०१३ देखि यो विकल्प प्रचलनमा आएको हो ।

नेपालभ्युज

भारतीय निर्वाचनमा कस्तो छ ‘नोटा’को प्रभाव ?

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । मंगलबार अपराह्नसम्म २ बजेसम्मको अपडेट अनुसार, भाजपा नेतृत्वको गठबन्धन ‘एनडीए’ ले २९२ स्थानमा अग्रता लिएको छ । अर्कोतिर, कांग्रेस नेतृत्वको गठबन्धन ‘इन्डिया’ ले २३३ स्थानमा अग्रता लिएको छ ।

भारतमा सरकार गठनका लागि न्यूनमत २७२ सिटको आवश्यकता पर्दछ ।

भारतीय निर्वाचनको एउटा उल्लेखनीय पक्ष छ- ‘नोटा (नन अफ द एबोब)’ । यस विकल्पमार्फत् मतदातले उपलब्ध कुनै पनि उम्मेदवारप्रति असहमति व्यक्त गर्न सक्नेछन् । सन् २०१३ देखि यो विकल्प प्रचलनमा आएको हो ।

नेपालमा पनि निर्वाचनमा यस विकल्प उपलब्ध गराउनुपर्ने चर्चा बेलाबखत चल्ने गरेको छ तर कार्यान्वयनमा आउन सकेको छैन । यसबारे सर्वोच्च अदालतले समेत यस सन्दर्भमा आदेश दिइसकेको छ । तर कार्यान्वनयमा आएको छैन । जसकारण नेपाली मतदाताहरू भने उपलब्धमध्ये एक उम्मेदवारलाई छान्नैपर्ने बाध्यतामा छन् ।

लोकसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय मतदाताले ‘नोटा (नन अफ द एबोब)’ विकल्पमा पनि मतदान गरेको देखिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा लाखौँ मतदाता हुने भारतमा ‘नोटा’ छनौट गर्नेहरू हजारको संख्यामा रहेको देख्न सकिन्छ । कतिपय स्थानमा केही उम्मेदवारले पाएको मतभन्दा ‘नोटा’मा खसेको मत बढी छ ।

उदाहरणका लागि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उम्मेदवार रहेको उत्तर प्रदेशको वनारसी क्षेत्रको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार, त्यहाँ मोदीले ४ लाख ४२ हजार ५०० मत पाएका छन् । उनलाई कंग्रेस आईका उम्मेदवार अजय राईले पछ्याइरहेका छन् । उनले ३ लाख २४ हजार ९६० मत पाएका छन् ।

जारी मतगणनामा ६ हजार ८८ जनाले ‘नोटा’ छनौट गरेका छन् । यो मत विभिन्न पार्टी/स्वतन्त्र चार उम्मेदवारले पाएको मतभन्दा बढी हो ।

सोही राज्यको राज बरेलीबाट उम्मेदवार बनेका राहुल गान्धीको निर्वाचन क्षेत्रमा पनि ‘नोटा’ चयन गर्नेहरू हजारको संख्यामा छन् । जारी मतगणनामा ४ हजार ६४१ मतदाताले ‘नोटा’ चयन गरेका छन् ।

अग्रस्थानमा रहेका कंग्रेस आईका राहुल गान्धीले ४ लाख २२ हजार ११ मत पाएका छन् । उनलाई भारतीय जनता पार्टीका दिनेश प्रताप सिहले १ लाख ८८ जहार ९७७ मतसहित पछ्याइरहेका छन् ।

नेपालमा पनि चर्चामा रहेका कन्हैया कुमार उम्मेवार रहेको दिल्लीको नर्थ-इस्ट दिल्ली क्षेत्रमा ३ हजार ७६३ जनाले ‘नोटा’ चयन गरेका छन् । यो विभिन्न पार्टी/स्वतन्त्र २५ उम्मेदवारले पाएको भन्दा बढी मत हो ।

यस क्षेत्रमा भारतीय जनता पार्टीका मनोज तिवारीले अग्रता लिएका छन् । उनले ४ लाख ३५ हजार ४१ मतसहित अग्रता लिएका छन् । उनलाई पछ्याएका कन्हैया कुमारले ३ लाख ३३ हजार ९८८ मत पाएका छन् । मतगणना जारी छ ।

केरलाको थिरुभनानथापुरामबाट उम्मेदवार बनेका छन् शशी थरुर । जारी मतगणनामा कांग्रेस उम्मेदवार थरुरले ३ लाख १९ हजार ९०९ मतसहित अग्रता लिएका छन् । उनलाई भारतीय जनता पार्टीका राजीव चन्द्रशेखरले ३ लाख १६ हजार ८४८ मतसहित पछ्याइरहेका छन् ।

पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा नोटा रोज्नेहरूको संख्या ६ हजार ११२ छ । यो ९ जना उम्मेदवारले पाएको मतभन्दा बढी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved