काठमाडौं । नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्र को आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिमरामा २५ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।
Facebook Comment
Comment