बैंक लुट्ने हमासको योजनाको दस्तावेज सार्वजनिक

नेपालभ्युज

बैंक लुट्ने हमासको योजनाको दस्तावेज सार्वजनिक

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ)ले हमास लडाकु समूहले गाजाको बैंकबाट लाखौँ शेकेल (इजरायली मुद्रा) चोरी गर्ने योजना बनाएको दस्तावेज सामाजिक सञ्जालमार्फत प्रदर्शन गरेको छ ।

“हमासले गाजामा रहेका बैंकको सेफ लुट्ने योजनाको आन्तरिक दस्ताबेजको खुलासा गरेको एक महिनापछि हमासले गाजापट्टीमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौँ शेकेल चोरी गरेको थियो,” आईडीएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचे अद्राईले एक्समा भने ।

बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरि शाखा भएको सबैभन्दा ठूलो प्यालेस्टाइनी बैंक हो । “मार्च १० मिति लेखिएको उक्त दस्ताबेज अबु जिहाद नामक हमास समूहका सदस्यद्वारा तयार पारिएको थियो । सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट ४० करोडभन्दा बढी शेकेल चोरेका थिए,” अद्राईले जानकारी गराए ।

हमास समूहले पटक–पटक बैंक अफ प्यालेस्टाइनका विभिन्न शाखामा चोरी गरेको थियो । “गाजाका बासिन्दाले आर्थिक र सामाजिक संकटको सामना गरिरहेका बेला हमासले आफ्नो साथै आफ्ना सदस्यको अस्तित्वका लागि गाजापट्टीका नागरिकबाट कुनै हिचकिचाहटबिना चोरी गरिरहेको छ,” अद्राईले भने ।

गाजाका प्यालेस्टाइनी बासिन्दा युद्धबाट विस्थापित भए पनि हमास नेताले वर्षौँदेखि आफू र आफ्नो परिवारलाई समृद्ध बनाउँदै आएका छन् । हमासका नेता इस्माइल हानियाह, खालिद मशाल र मुसा अबु मर्जुकको संयुक्त ११ अर्ब डलरको व्यक्तिगत सम्पत्ति रहेको छ । जबकि, संगठनको नेतृत्वले जम्मा एक अर्ब डलरको लगानी पोर्टफोलियो नियन्त्रण गर्ने इजरायलको प्रेस सर्भिसले सेप्टेम्बरमा जानकारी गराएको थियो ।

युद्धअघि हमासले इजिप्टबाट तस्करी गरिएका सामानमा २० प्रतिशत कर लगाउने गरेको थियो । गाजाको कालोबजारी व्यापारबाट वार्षिक ४० करोडभन्दा बढी अमेरिकी डलर कमाएको थियो ।

गएको अक्टोबर ७ मा गाजा सीमानजिकै इजरायली समुदायमा हमासको आक्रमणमा कम्तीमा एक हजार २०० मानिसले ज्यान गुमाएका थिए । २५२ इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो । बाँकी रहेका १२५ बन्धकमध्ये ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved