काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ जुन २ बाट आयोजक अमेरिका र क्यानडाबीचको खेलबाट सुरु हुँदैछ ।
यसपटकको टी–२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहेको छ, जसलाई चार समूहमा विभाजन गरिएको छ । टी–२० विश्वकपका खेलहरू अमेरिकासँगै वेस्ट इन्डिजमा पनि हुनेछ ।
नवौं संस्करणको प्रतियोगितामा निकै रमाइलो हुने र चौका र छक्काको वर्षा हुने अपेक्षा गरिएको छ । टी-२० विश्वकपको इतिहासका ती ५ इनिङ्सका बारेमा जानौँ, जसमा खेलाडीले आफ्नो ब्याटिङले हलचल मच्चाएका थिए-
ब्रेन्डन म्याकुलम
सन् २०१२ को टी–२० विश्वकपमा न्युजिल्यान्डका पूर्व दिग्गज खेलाडी ब्रेन्डन म्याकुलमले आफ्नो आँधीबेहरी ब्याटिङले बंगलादेशलाई तहसनहस बनाएका थिए ।
न्यूजिल्याण्ड र बंगलादेशबीचको यो खेल श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा भएको थियो ।
सो खेलमा म्याकुलमले ५८ बलमा १२३ रन बनाएका थिए । यो टी-२० विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि खेलाडीले खेलेको सबैभन्दा ठूलो इनिङ्स हो।
क्रिस गेल
सीमित ओभरका विस्फोटक ब्याट्सम्यान वेस्ट इन्डिजका क्रिस गेल टी–२० विश्वकपमा सबैभन्दा ठूलो इनिङ्स खेल्ने हिसाबले दोस्रो स्थानमा छन् ।
गेलले सन् २००७ मा जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरूद्ध ५७ बलमा ११७ रनको बलियो इनिङ खेलेका थिए ।
क्रिस गेलको यो कीर्तिमानी इनिङ्सले टी–२० विश्वकपमा लामो समयसम्म पहिलो स्थानमा रहेको थियो तर, म्याकुलमले यो रेकर्ड तोडेका छन् ।
एलेक्स हेल्स
इंग्ल्यान्डका स्टार ब्याट्सम्यान एलेक्स हेल्सले पनि टी–२० विश्वकपमा आफ्नो टोलीका लागि विनाशकारी इनिङ्स खेलेर कीर्तिमान बनाएका छन् ।
हेल्सले सन् २०१४ को विश्वकपमा श्रीलंकाविरूद्ध ६४ बलमा अविजित ११६ रन बनाएका थिए ।
यस हिसाबले हेल्स टी–२० विश्वकपमा सबैभन्दा ठूलो इनिङ्स खेल्ने हिसाबले तेस्रो स्थानमा छन् ।
अहमद शहजाद
पाकिस्तान क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान अहमद शहजादले पनि सन् २०१४ को विश्वकपमा बंगलादेशलाई आफ्नो विस्फोटक ब्याटिङले तहसनहस बनाएका थिए ।
शहजादले बंगलादेशविरूद्ध मिरपुरमा ६२ बलमा १११ रनको अविजित इनिङ खेलेका थिए ।
रिले रूसो
दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान रिले रूसोले पनि सन् २०२२ को टी–२० विश्वकपमा आफ्नो तूफानी ब्याटिङले हलचल मच्चाएका थिए ।
सिड्नीमा भएको बंगलादेशविरूद्धको खेलमा रूसोले ५६ बलमा १०९ रनको बलियो इनिङ खेलेका थिए ।
Facebook Comment
Comment