काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका नेताहरूलाई बोलाएर छलफल गरेका छन् ।
बिहीबार दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता मेटमणि चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी लगायतका नेताहरू देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।
छलफल मुख्यगरी मधेस सरकारको विषयमा केन्द्रित रहेको एक नेताले बताए । देउवाले मधेस सरकारको नेतृत्व सत्ता गठबन्धन (एमाले-माओवादी केन्द्र) तिर जान दिन नहुने धारणा राखेका थिए । उनको प्रस्तावलाई अन्य नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
‘माधव नेपालले समेत सकारात्मक प्रतिक्रिया दिनुभएको छ’, ती नेताले भने ।
नेपाल नेतृत्वको एकीकृत समाजवादी वर्तमान सत्ता गठबन्धनमा छ । संघीय सरकारमा उसका तर्फबाट पनि मन्त्रीहरू छन् । साथै, जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारमा पनि एकीकृत समाजवादीका मन्त्रीहरू छन् । संघीय सरकारबाट भने जसपा नेपालका मन्त्रीहरू यसअघि नै बाहिरिइसकेका छन् ।
मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्रले वैशाख ३० मा सरकार छाडेका थिए । त्यसै दिन सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । जसकारण मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिने बाध्यतामा छन् । उनले अर्को हप्ता विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
एमाले र माओवादी केन्द्रको बहिर्गमनसँगै त्यहाँ नयाँ सरकार गठन र यादव नेतृत्वको सरकार जोगाउने दोहोरो रणनीतिमा दलहरू छन् ।
एमाले, माओवादी केन्द्र तथा जनमत पार्टीले नयाँ सरकार गठनको पहल गरिरहेका छन् । जसअनुसार जनमत पार्टीलाई पहिलो चरणमा नेतृत्व दिएर नयाँ सरकार गठनको तयारी भइरहेको छ । संघीय सरकारमा पनि सहभागी भएकाले एकीकृत समाजवादी लगायतले साथ दिने अपेक्षा यो समूहको छ ।
अर्कोतिर, मधेस सरकारको निरन्तरतालाई सधैंजसो मुख्य रणनीति बनाउँदै आएका उपेन्द्र यादवले भने कांग्रेस, लोसपा, एकीकृत समाजवादी लगायतका दलको साथमा तत्काललाई सरकारको निरन्तरताको सुनिश्चितता गर्ने र कालान्तरमा पनि आफ्नो सहभागितासहितको सरकार गठन गर्ने रणनीति अपनाएका छन् ।
संघीय सरकारबाट बाहिरिएको कांग्रेस भने संघदेखि प्रदेशसम्म दलहरूको मोर्चाबन्दी गर्ने र सकेसम्म सत्ता प्राप्तिको रणनीतिमा छ । संघमा उसले राप्रपा, जसपा नेपाल, लोसपा, जनमोर्चालाई सहभागी गराएर विपक्षी दलहरूको बैठक समेत राख्ने गरेको छ ।
तर बुढानीलकण्ठको बैठकमा माधव नेपालको प्रवेशलाई भने विभिन्न कोणबाट आकलन गरिएको छ । पहिलो, वर्तमान सत्ता गठबन्धनबाट बाहिरिएर कांग्रेसको नेतृत्वमा विपक्षी गठबन्धनमा आबद्ध हुने । खासगरी सत्ता गठबन्धनको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नरुचाएका कारण सत्ता गठबन्धनबाट बहिर्गमनको बाध्यतामा पुग्न लागेकाले त्यसअघि नै कांग्रेससँग नजिकिने प्रयासको रुपमा हेरिएको छ ।
दोस्रो, सत्ता गठबन्धनलाई दबाब दिन पनि उनले विपक्षी दलहरूसँग हिमचिम बढाएको आकलन गरिएको छ ।
संघीय सरकारबाट एकीकृत समाजवादी बाहिरिए पनि प्रचण्ड सरकारलाई संकट सिर्जना हुँदैन ।
मधेस प्रदेशमा भने एकीकृत समाजवादीसँग ७ सांसद छन् । अहिलेको ध्रुवीकरणमा जुन पक्षको सरकार बन्ने स्थिति आए पनि ऊ निर्णायक बन्ने स्थिति छ ।
Facebook Comment
Comment