काठमाडौं । संसदीय छानबिन समितिमा रहने सदस्यहरूको नाम टुंगो लागेको छ ।
मंगलबार कार्यादेश टुंगिएसँगै सात दसस्यीय संसदीय छानबिन समिति गठन हुन लागेको हो । समिति गठनको विषयमा मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले घोषणा गर्नेछन् ।
यी हुन् समितिमा रहने सांसदहरूः
ईश्वरी देवी न्यौपाने/कांग्रेस
ध्रुवबहादुर प्रधान/राप्रपा
बद्रीप्रसाद पाण्डे/कांग्रेस
लेखनाथ दाहाल/माओवादी केन्द्र
शिशिर खनाल/रास्वपा
सरिता भुसाल/एमाले
सूर्यबहादुर थापा क्षेत्री/एमाले
केही सहकारीमा बचत गरिएको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । उसले समिति गठनका लागि दबाबस्वरुप संसद् पनि अवरोध गरेको थियो । सुरुवातमा सत्ता पक्ष समिति गठनका लागि तयार भएको थिएन । तर सदन अवरोध भइरहेपछि समिति गठनको सहमति जुटेको थियो ।
जेठ ५ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका नेताहरूले संसदीय समिति गठन गर्ने र त्यसको कार्यादेश (टीओआर) टुंग्याउन कार्यदल गठन गरेको थियो ।
समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कांग्रेस सांसद जीवन परियार, एमाले सांसद नेता महेश बर्तौला र रास्वपा सांसद नेता शिशिर खनाल तोकिएका थिए । बैठकहरूमा कांग्रेसका सांसद ज्ञानेन्द्र कार्की पनि सहभागी हुँदै आएका थिए । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दै आएको थियो ।
कार्यदलको बैठकमा पनि लामो समयसम्म गृहमन्त्री लामिछानेको नाम नै तोकेर संसदीय समितिको कार्यादेश तयार गर्नुपर्ने अडानमा कांग्रेस थियो । सत्ता पक्षले भने लामिछानेको नाम नलेख्ने विषयलाई आफ्नो ‘बटमलाइन’को रुपमा प्रस्तुत गरेको थियो ।
अन्ततः जेठ १४ गते (सोमबार) बेलुका प्रधानमन्त्री निवासमा बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समितिको कार्यादेशको विषयमा मोटामोटी सहमति जुटाएका थिए । उनीहरूले कार्यादेश लगायत समितिमा रहने सदस्य संख्या र समयावधिको विषयमा पनि टुंगो लगाएका थिए । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।
सोही अनुसार, मंगलबार बसेको कार्यदलको बैठकले संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिएपछि संसदीय समिति गठनको बाटो खुलेको हो । कार्यादेशमा सहमति भएपछि आजको संसद् बैठक सहज ढंगले चलेको थियो ।
Facebook Comment
Comment