बालुवाटार पुगेर कांग्रेसले पुरानै अडान दोहोर्‍याउने

नेपालभ्युज

बालुवाटार पुगेर कांग्रेसले पुरानै अडान दोहोर्‍याउने
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्षीय दलहरूसँगको बैठकमा पुरानै अडान दोहोर्‍याउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए ।

साँझ ५ बजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरूको बैठक बोलाएका छन् । त्यहाँ गएर पुरानै अडान दोहोर्‍याउने कांग्रेसको निर्णय छ । “हामीले पुरानै अडान दोहोर्‍याउँछौँ, त्यसमाथि समझदारीको बिन्दु आउँछ भने त्यसबारे छलफल त्यहीँ गर्छौँ,” परियारले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक र सहमहामन्त्री परियार जाँदैछन् ।

प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म संसद्‌को ‘डेडलक’ जसरी पनि खोल्ने बताएका छन् । कांग्रेसले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनैपर्ने अडान छाडेको छैन ।

सत्तापक्षीय दलहरूको आग्रहमा समिति गठनपूर्व त्यसको कार्यादेश (टीओआर) टुङ्ग्याउन कार्यदल बनेको छ तर, त्यहाँ पनि सहमति जुटेको छैन । कार्यदलमा कांग्रेसले गृहमन्त्री लामिछानेको नाम टीओआरमा नै उल्लेख गर्नुपर्ने अडान राखेको छ भने सत्तापक्षीय दलहरू त्यसमा मानेका छैनन् ।

कार्यदलमा सहमति नजुटेपछि यही विषयमा शीर्षस्थ नेताहरूका बीचमा छलफल भएको छ । यही विषय साँझसम्म टुङ्ग्याउन चाहेका छन् प्रधानमन्त्रीले । तर, कांग्रेसले भने थोरै पनि ‘कम्प्रमाइज’ नगर्ने निर्णय नै गरिसकेको छ । यस्तोमा सत्तापक्षीय दलहरूको तर्फबाट कस्तो प्रस्ताव जान्छ, आज सहमति जुट्ने र नजुट्ने त्यसैमा निर्भर रहने देखिन्छ ।

यता प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेटमा मुछेको भन्दै कांग्रेसले लिखित रूपमा माफी माग्नुपर्ने माग राखेको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले कसरी सहमति जुटाउलान्, हेर्न बाँकी छ । उनले आज साँझसम्म जसरी पनि सहमति निकाल्न खोजेका छन् । भोलि जेठ १५ अर्थात् सदनमा बजेट पेस हुनुपर्ने; तर, सहमति जुट्ने सम्भावना भने न्यून छ । कांग्रेसले सहमति नजुटे सदन अवरुद्ध गर्ने अडान कायम नै राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved