रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ

नेपालभ्युज

रामग्रामस्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ

नवलपरासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्रामस्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बुद्धजयन्तीको अवसर पारेर बुधबार पश्चिम नवलपरासीस्थित रामग्रामस्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्रामस्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषद्मा स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्रामस्तूप क्षेत्रको विसं २०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचारप्रसार हुनसके दीर्घकालीनरूपमा यस क्षेत्रको विकास हुनसक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिकस्थलको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य जरूरी रहेकामा मन्त्री तामाङको जोड थियो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले सङ्घीय सरकारले बुद्धसँग जोडिएका प्रदेशका समग्रस्थलको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसमा पहलका लागि मन्त्री तामाङलाई आग्रह गरे।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्रामस्तूपको विकासका लागि सङ्घ, प्रदेश सरकार र लुम्बिनी विकास कोष संयुक्तरूपमा अगाडि बढ्नुपर्ने बताए । उनले लुम्बिनी विकास कोषले निर्माण गरेका ऐनहरू बाझिएकाले काम गर्न कठिनाइ भएको समेत बताए ।

ग्रेटर लुम्बिनीअन्तर्गत बनाइएको गुरुयोजनाले स्तूप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजनाअनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचना निर्माणका लागि रु पाँच अर्ब ५० करोड लागत अनुमानसहित गुरुयोजना तयार गरिए पनि मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ ।

गुरूयोजना कार्यान्वयनमा आए नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थलको विकासका साथै बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved