चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमणको उद्देश्य

चीन विस्तारै यूरोपलाई विभाजित गर्न चाहन्छ । यूरोपको एउटा हिस्सालाई अमेरिकाबाट टाढा बनाउन चाहन्छ । यूरोपमा अमेरिकाको प्रभाव घटाउन चाहन्छ । यूरोपेली देशमा आफ्नो व्यापार र लगानी बढाउन चाहन्छ । यूरोपली देशमा चिनियाँ संलग्नता र स्वीकार्यता वृद्धि गर्न चाहन्छ ।

नेपालभ्युज

चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमणको उद्देश्य

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै यूरोप भ्रमण पूरा गरे । राष्ट्रपति सी यो भ्रमणका क्रममा यूरोपका तीन देश फ्रान्स, सर्विया र हंगेरी पुगे । सीको यो भ्रमण पाँच वर्षयताकै पहिलो यूरोप भ्रमण थियो ।

सीको भ्रमणका उद्देश्यलाई विभिन्न आयामबाट विश्लेषण गर्ने प्रयास भइरहेका छन् । मूलतः उनले तीनवटा विषय; व्यापार, लगानी र यूक्रेनमाथि रुसी युद्धको कुरा गरेका थिए । चीनको महत्वाकाङ्क्षी विश्व योजना बीआरआई स्वाभाविक रूपमा जोडिएको थियो ।

विश्लेषक भन्छन् कि चीन विस्तारै यूरोपलाई विभाजित गर्न चाहन्छ । यूरोपको एउटा हिस्सालाई अमेरिकाबाट टाढा बनाउन चाहन्छ । यूरोपमा अमेरिकाको प्रभाव घटाउन चाहन्छ । यूरोपेली देशमा आफ्नो व्यापार र लगानी बढाउन चाहन्छ । यूरोपली देशमा चिनियाँ संलग्नता र स्वीकार्यता वृद्धि गर्न चाहन्छ ।

सन् २०१८ को व्यापार युद्धपछि अमेरिका-चीन सम्बन्ध जटिल हुँदै गएको थियो । अमेरिकासँग चीनको बढ्दो तनावपछिका वर्षमा चिनियाँ अर्थतन्त्रको वृद्धिदरमा ह्रास आएको थियो ।

चिनियाँ उद्योग पूर्ण क्षमतामा सञ्चालित हुन ठूलो र धेरै क्रय क्षमता भएको बजार चाहिन्छ । यस्तो बजार चीनले एसिया र अफ्रिकामा पाउन गाह्रो छ । यी महादेशमा ठूलो जनसङ्ख्या भए पनि क्रयशक्ति बलियो छैन ।

यूरोपेली बजार चीनको आर्थिक वृद्धिका लागि सधैँ आकर्षक र लाभदायक रहँदै आएको छ । यूरोपले चीनलाई निर्यातमा अमेरिकाको विकल्प दिने गरेको छ ।

यो वर्ष फ्रान्स-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षिकी पनि हो । यूरोप भ्रमणका क्रमका राष्ट्रपति सीले दुई दिन फ्रान्समा बिताए । यस क्रममा फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोंले भने चीनसँग यूरोपेली सङ्घको व्यापार घाटाको विषय उठाए । गत वर्ष यूरोपेली सङ्घमाथि चीनको व्यापार असन्तुलन करिब ३१५ बिलियन डलर बराबरको थियो ।

साथै म्याक्रोंले सीसँग यो आग्रह गरे कि यदि उनको मित्रता र प्रभावले यूक्रेन युद्ध रोकिन सक्दछ भने चीनले त्यस्तो प्रयत्न गर्नु पर्दछ र रुसमाथि दबाब बढाउनु पर्दछ । फ्रान्सको विचारमा युद्ध अन्त्यको सबैभन्दा राम्रो विकल्प रुस युद्धबाट फिर्ता हुनु हो ।

म्याक्रोंले सीसँगका वार्तामा यूरोपेली आयोगकी अध्यक्ष उर्सला वोनडेयर लेयनलाई समेत सामेल गरेका थिए । म्याक्रों बलियो यूरोपेली सङ्घका पक्षधर हुन् । यूरोपेली सङ्घबाट बेलायत बाहिरिएको भए पनि बाँकी यूरोपका लागि सङ्घको भूमिका महत्त्वपूर्ण हुने म्याक्रोंको धारणा रहँदै आएको छ ।

सीको भ्रमणक्रममा यूरोपेली आयोगकी अध्यक्षलाई फ्रान्स निम्त्यिाएर म्याक्रोंले यूरोपेली सङ्घप्रतिको आफ्नो धारणालाई पुष्टि गर्न खोजे । उर्सुलाले चिनियाँ विद्युतीय सवारी साधन र हरित प्रविधिबारे यूरोपेली सङ्घका सरोकारबारे चर्चा गरेकी थिइन् ।

सीले फ्रान्स र यूरोपेली सङ्घका कुरा सुने तर, कुनै गतिलो प्रतिबद्धता भने गरेनन् । म्याक्रों र उर्सुलाले सीलाई रुसलाई सैन्य प्रविधि नदिनसमेत आग्रह गरेका थिए ।

राष्ट्रपति म्याक्रों बहुध्रुवीयतामा विश्वास गर्दछन् । चीनको मूल्यमा उनले अमेरिकासँगको सम्बन्ध बिर्गालान् भन्ने कसैले ठानेको छैन । तर, बहुध्रुवीयताको अवधारणाअनुरूप चीनको शक्तिलाई सन्तुलन गर्नु म्याक्रोंको मुख्य उद्देश्य हो ।

म्याक्रोंले चीनसँग आफ्ना सरोकार राखे तर, राष्ट्रपति सी ती सरोकार पूरा गर्ने वा वचन दिन सक्ने अवस्थामा थिएनन् । रुससँगको मित्रतालाई चीनले त्यति हल्का रूपमा लिन सक्दैन कि उसलाई बिना उपलब्धि वा खाली हात यूक्रेनबाट फिर्ता हुन आग्रह गरोस् ।

रुसजस्तै फ्रान्स र ब्राजिलपछिल्लो दशक चीनसँग नजिकिन खोजेको देखिन्छ । यसको अर्थ बहुध्रुवीय विश्वको एक ध्रुवका रूपमा आफूलाई स्थापना गर्ने चाहनाप्रति मान्यता प्राप्त गर्नु हो ।

चीनजस्तै रुस, फ्रान्स र ब्राजिल अमेरिकाको विश्व प्रभुत्व घटोस् भन्ने चाहन्छन् । र, यही स्वार्थले यी देशलाई एकअर्काको नजिक बनाएको हो । फ्रान्सपछि राष्ट्रपति सी सर्विया र हंगेरी गए । यी दुवै देश चीनको बीआरआई परियोजनाका हस्ताक्षरकर्ता हुन् ।

बेलग्रेडमा सीको भव्य स्वागत भयो । सर्वियाका राष्ट्रपति अलेक्जेन्डर भुसिकले आफ्ना चिनियाँ समकक्षीका लागि भव्य सार्वजनिक समारोह आयोजना गरे ।

चीनले सर्वियाका लागि केही आश्वासन दिँदै आएको छ । तीमध्ये बीआरआई परियोजनाअन्तर्गत हवाई सम्पर्क सुदृढ गर्ने र सर्वियाली कृषि उपज चिनियाँ बजारमा निर्यात गर्न दिने विषय मुख्य छन् ।

बुडापेस्टमा भने राष्ट्रपति सीको मुख्य मुद्दा हंगेरीमा थप चिनियाँ लगानी र द्रुत रेलमार्ग निर्माण थियो । राष्ट्रपति सीले बुडापेस्ट र बेलग्रेड जोड्ने द्रुत रेल मार्गको आश्वासन दिएको बताइन्छ । तर, यो बीआरआई परियोजनाअन्तर्गतको चिनियाँ ऋण हुनेछ । यो परियोजनाका लागि मात्र २.१ बिलियन डलरको लगानी आवश्यक पर्ने बताइएको छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर अर्वानले राष्ट्रपति सीको भ्रमणलाई उच्च महत्त्व दिएका थिए । हंगेरी चीनका लागि यूरोपेली व्यापारको ‘गेटवे’ हुने विश्वास गरिन्छ । हंगेरीसँग चीनको सम्बन्ध फ्रान्स र सर्वियासँगको भन्दा पुरानो हो । दुई देशबीचको कूटनीतिक सम्बन्ध ७५ औं वर्षमा छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर अर्वान एक घोषित दक्षिणपन्थी नेता मानिन्छन् । राष्ट्रपति सीको वामपन्थी विचारधारा र अर्वानको दक्षिणपन्थी विचारधाराले दुई देशबीचको सम्बन्धमा कुनै अप्ठ्यारो सृजना गरेको छैन बरु झनै बलियो बनाएको छ । किनकि अहिले यसमा व्यापार जोडिएको छ ।

शीतयुद्धकालमा हंगेरी चीनजस्तै एक साम्यवादी देश थियो । साथै सोभियत सङ्घसँगै ‘बार्सा प्याक्ट’ को सदस्य थियो । उत्तर साम्यवादी हंगेरीमा अर्वान निक्कै बलिया नेता बनेर उदाए ।

सर्विया भने पूर्व साम्यवादी राज्य युगोस्लाभियाको मुख्य उत्तराधिकार हो । युगोस्लाभियाका संस्थापक मार्सल टिटोले शीतयुद्धकालमा असंलग्न आन्दोलनको नेतृत्व गरेका थिए ।

राष्ट्रपति सी आफ्नो भ्रमणमा कति सफल भए, त्यसको आन्तरिक मूल्याङ्कन चीनले आफैँ गर्ला । तर, सार्वजनिक तस्वीरमा देखिएको दृष्य के हो भने उनले यूरोपमा चीनको संलग्नता र स्वीकार्यतालाई भने बढाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved