सिरोहिया पक्राउ सन्दर्भमा रास्वपाको विज्ञप्ति- ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो

नेपालभ्युज

सिरोहिया पक्राउ सन्दर्भमा रास्वपाको विज्ञप्ति- ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि गृहमन्त्री रवि लामिछाने सभापति रहेको रास्वपाको तर्फबाट विज्ञप्ति जारी भएको छ ।

सिरोहिया पक्राउमा लामिछानेको पूर्वाग्रहको भूमिका रहेको भनेर आलोचना भइरहेको बेलामा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा कानुन भन्दामाथि कोही नहुने कुरा नै विधिको शासनको सौन्दर्य भएको उल्लेख छ ।

‘जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आफ्नो पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति भएको प्रष्ट्याइएको छ । नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफ्नो दल दल कटिबद्ध रहेको पन उल्लेख छ ।

सिरोहिया पक्राउ परेको तथ्य आफूहरूको जानकारीमा आएको भन्दै विज्ञप्तिमा भनिएको छ- ‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ ।’

रास्वपाले व्यवसायी र पत्रकार एकै होइनन् भनेर प्रष्ट्याउने कोसिस पनि गरिएको छ । भनिएको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved