इरानका राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि, कोही पनि जीवित भेटिएनन्

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति मुखबरले सम्हाले

नेपालभ्युज

इरानका राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि, कोही पनि जीवित भेटिएनन्

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको मृत्यु भएको सरकारी मिडियाले पुष्टि गरेको छ ।

इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले पुष्टि गरेको हो । दुर्घटनामा परेका कोही पनि जीवित फेला नपरेको बताइएको छ ।

इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो । राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो ।

मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको थियो ।

दुर्घटनास्थल राजधानी तेहरानबाट ६०० किलोमिटर टाढा पर्छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न  विभिन्न ४० टोली खटाइएको थियो । दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।

६३ वर्षीय रइसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजना उद्घाटन गरेका थिए ।

राष्ट्रपतिसहित हेलिकोप्टरमा ९ जना सवार थिए । समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख र उच्च अधिकारी सवार थिए।

उद्धारकर्ताले खराब मौसमका बीच निकै लामो प्रयासमा दुर्घटनास्थल फेला पारेका थिए । इरानका उपराष्ट्रपति मुहमद मुखबरले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।

नयाँ राष्ट्रपतिको निर्वाचन ५० दिनभित्रमा गर्ने घोषणा पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved