९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

नेपालभ्युज

९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले म्याग्दी स्थायी घर भई चितवनको वीरेन्द्रनगरमा बस्दै आएकी तमिसरा पुनमगरको सफल शल्यक्रिया गरेको हो ।

शुक्रबार बिहान डा. भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया नेपालमा पहिलोपटक गरिएको डा. श्रेष्ठले बताए ।

उनले भने, “९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलोपटक हो । मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।”

सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिन्छ ।

डा. श्रेष्ठ वरिष्ठ क्यान्सर सर्जन हुन् । उनले ०५० सालदेखि शल्यक्रिया गर्दै आएका छन् । यसअघि, ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उनको अनुभव छ ।

डा. श्रेष्ठको नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो । उपचारमा डा. सुरेश गौतम, डा. इन्द्रनारायण श्रेष्ठ, डा. रवीन्द्र केसी, डा. सागर भुसाल, डा. सुधीर रेग्मी, डा. मणिप्रसाद गौतम, डा. किशोर गौतम र नर्सहरू निरू आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेललगायत स्वास्थ्यकर्मीको संलग्नता थियो ।

अहिले वृद्धाको अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताए । “जोखिम लिएर शल्यक्रिया गरेका थियौँ । बेहोस बनाउने चिकित्सकहरू पनि डर मानिरहनुभएको थियो । हामीलाई उहाँहरूले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो, त्यसमा हामी सफल भयौँ,” उनले भने, “शल्यक्रिया गरेको पाँच मिनेटमै होसमा आउनुभयो ।”

तमिसराको स्तनमा गिर्खा देखिएपछि उपचारका निम्ति अस्पताल आएकी थिइन् । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा. श्रेष्ठले बताए । वृद्धाको स्तनमा २.५ सेन्टिमिटरको गिर्खा थियो ।

“अहिले सीटीस्क्यानको रिपोर्टअनुसार उहाँ क्यान्सरमुक्त हुनुहुन्छ । इमियुनो हिस्टो केमेस्ट्री (आईएचसी) परीक्षणका लागि नमुना भारत पठाएका छौँ,” उनले भने । उनले ९७ वर्षको उमेर समूहमा गरिएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved