काठमाडौं। नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी- ४ २०२४ मा सहभागी हुने ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ।
भियतनामको दनाङ प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले उच्च प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिदैं तेक्वान्दोको विदेशकी प्रशिक्षक झिकाउने विषयमा तेक्वान्दो संघले चाँडो प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी सहभागी हुनेछन् ।
पलेशाले छनोट चरण पार गरेर पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोट चरण पार गरेर पारा ओलम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एक मात्र खेलाडी हुन् ।
पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । पलेशा चौथो एसियाली पारा खेलकुदको कास्य पदक विजेता पनि हुन् । उक्त पदक नेपालले पारा एसियाली खेलकुदमा हासिल गरेको एक मात्र हो ।
पलेशाले सन् २०२१ मा बहराईनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।
नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी दिए । एसियन च्याम्पिनसिपबाट -याङकिङमा आउन र -याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।
प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।
बिदाइका अवसरमा राखेपका सदस्य–सचिव प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबादुर चन्द, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो ।
टोली शुक्रबार भियतनाम जाने तालिका रहेको छ।
Facebook Comment
Comment