काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच टेलिफोन संवाद भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकअघि सभामुखले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेका उनको सचिवालयले जानकारी दिएको छ ।
‘प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भन्नुभएको छ’, सभामुखको सचिवालयले जानकारी दियो, ‘प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो ।’
सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । समिति गठन गर्न सरकार तयार नभएपछि उसले संसद् बैठक अवरोध गर्दै आएको छ ।
यसअघि प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।
यता सभामुख घिमिरेले भने बानेश्वरमा नै कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।
Facebook Comment
Comment