सुदूरपश्चिम प्रदेशको बजेट खर्च ३४ प्रतिशत मात्रै

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशको बजेट खर्च ३४ प्रतिशत मात्रै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेट मात्र खर्च गरेको छ ।

चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रू १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रू पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ रू पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रू चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले रू दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रू ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रू ७१ करोड १८ लाख खर्च गरेको उनले जानकारी दिए ।

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रू १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रू १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले रू छ करोड ६६ लाख खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले रू १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले रू चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले रू एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रू २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसमध्ये चालुतर्फ रू ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ रू १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ रू ३० करोड बजेट विनियोजन गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved