प्रमुख सचेतकहरुसँग छलफलमा सभामुखले भने- संवैधानिक संकट हुने अवस्था नआओस्

नेपालभ्युज

प्रमुख सचेतकहरुसँग छलफलमा सभामुखले भने- संवैधानिक संकट हुने अवस्था नआओस्

काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नहुने बताएका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि उनले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै भने, ‘राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित हुने देखिएको छ । संवैधानिक संकट हुने अवस्था नआओस् ।’

छलफलमा कांग्रेसकी सचेतक सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने बताएकी थिइन् । ‘छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ’, उनले भनिन् ।

सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै उनीमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेले संसद् अवरोध गर्दैं आएको छ । यद्यपि, मंगलबार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पाठ गर्न आह्वान गरिएको संघीय संसद्को संयुक्त बैठक भने अवरोध नगर्ने निर्णय कांग्रेसले लिएको छ ।

रास्वपाका प्रमुख सन्तोष परियारले गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिएको तर बोल्न नपाएको स्मरण गराएका थिए । ‘आजको बैठकमा त्यसको निरन्तरतास्वरूप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।’

बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए । उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved