एकीकृत समाजवादीको दस्ताबेज : माओवादीसँग नरम, एमालेप्रति गरम

एकीकृत समाजवादीका राजनीतिक प्रतिवेदन नेकपा माओवादी केन्द्र आन्दोलनप्रति सापेक्षिक नरम छ भने विगतको आफ्नै दल नेकपा एमाले आक्रामक देखिन्छ । आफ्नो दल एमालेबाट फुटेर नभई २००६ वैशाख १० मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भनिएको छ ।

नेपालभ्युज

एकीकृत समाजवादीको दस्ताबेज : माओवादीसँग नरम, एमालेप्रति गरम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का राजनीतिक प्रतिवेदन नेकपा माओवादी केन्द्र आन्दोलनप्रति सापेक्षिक नरम छ भने विगतको आफ्नै दल नेकपा एमाले आक्रामक देखिन्छ । अध्यक्ष माधवकुमार नेपालको पार्टी पोलिटव्युरो बैठकमा सोमबार पेस गरेको ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा एमालेप्रति मिल्ने जति आरोप र अपजसको भारी बोकाउन खोजिएको छ ।

मूलतः एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘अवसरवादी’ र संविधान विरोधी भन्दै चित्रण गरिएको छ ।

अध्यक्ष नेपालले छलफलका लागि पेस गरेको प्रतिवेदनमा एमालेप्रति लक्षित गर्दै भनिएको छ, ‘‘यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ । संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ ।’’

एकीकृत समाजवादी महाधिवेशन तयारीमा छ । यो प्रतिवेदनमा पार्टीले अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोणसमेत समावेश छ ।

प्रतिवेदनमा एकीकृत समाजवादी एमालेबाट बनेको नभई २००६ वैशाख १० मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भनिएको छ । यो पार्टीबाट प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ८ सांसद छन् ।

प्रतिवेदनमा आफ्नो दल नेपाली श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी प्रतिनिधि दाबी गरिएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ, ‘‘यस पार्टीको अबको रणनीतिक लक्ष्य नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन र उत्पीडनको अन्त्य गरी मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो ।’’

नेपाली कांग्रेसप्रति भने एकीकृत समाजवादीको प्रतिवेदन नरम छ । ‘लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको सङ्घर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी यथास्थितिमा रमाउने गरेको’ उल्लेख छ ।

माओवादी केन्द्रप्रति पनि नरम भाव राख्दै समाजवादी मोर्चामा सँगै रहेको उल्लेख गरेको छ । भनिएको छ, ‘‘नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्यौलता फसेको छ । जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध देखिन्छ। समाजवादी मोर्चामा हामी सँगै छौँ ।’’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने संविधान, गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण स्पष्ट नभएको आरोप लगाइएको छ । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने दाबी गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘‘यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधान, गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । नवउदारवादको वकालत गर्ने यस पार्टीले आफूलाई मध्य दक्षिणपन्थीको रूपमा प्रस्तुत गर्ने गरेको छ । त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले दक्षिणपन्थी दृष्टिकोण राख्दछ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved