काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् ।
उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्री प्रचण्डबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए ।
उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र सोमबार साँझसम्म निष्कर्षमा पुगिने सभामुख घिमिरेलाई बताए।
प्रचण्डले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरू गर्ने बताएका थिए । त्यसक्रममा उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गरेका थिए ।
उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए । उनले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिएका थिए ।
Facebook Comment
Comment