काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंङ्लोरले प्लेअफ सम्भावना कायमै राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेङ्लोरले दिल्लीलाई ४७ रनले हराएको हो ।
बेङ्लोरले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो । दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए ।
बेङ्लोरका यश दयालले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । बेङ्लोरका लागि रजत पतिदरले ५२ रन बनाए ।
जित पछि पाँचौँ स्थानमा उक्लिएको बेङ्लोरको १३ खेलमा १२ अंक भएको छ । समान खेल र समान अंक रहेको दिल्ली छैटौँ स्थानमा छ ।
यसैबीच, राजस्थान रोयल्सलाई हराएर चेन्नई सुपर किंग्सले पनि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १० बल बाँकी छँदै ५ विकेट गुमाएर भेटायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।
जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नई १४ अंक सहित तेस्रो स्थानमा छ । राजस्थान १२ खेलमा १६ अंक सहित दोस्रो स्थानमा छ । आईपीएलमा आज गुजरात र कोलकाता भिड्दैछन् ।
Facebook Comment
Comment