काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रेमिट्यान्स भित्रिएको हो ।
यस वर्ष रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७ सय २१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८ सय ३९ र २ लाख १७ हजार ९ सय ५९ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव ८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव ८ प्रतिशतले बढेको थियो ।
Facebook Comment
Comment