काठमाडौं। उपत्यकाकै लामो रथ यात्रा, रातो मत्स्येन्द्रनाथको रथ यात्रा आज (वैशाख २९) बाट सुरु भएको छ ।
वर्षा र सहकालका देवता भनेर समेत पुजिने रातो मत्स्येन्द्रनाथको मूर्तिलाई वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराई अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ति गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रथ यात्रा सुरु हुन्छ ।
करिब १६०० वर्ष अघि नगरवासीलाई श्री पद्मपाणी अवलोकितेश्वर समेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन ललितपुर नगरको भ्रमण गराउँदै रथयात्रा आरम्भ गरिएको विश्वास गरिन्छ । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गा:बहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइसकेपछि रथ यात्रा विधिवत् रूपमा समापन हुन्छ ।
भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई बु:मतीमा लगेर राखिन्छ । सूर्य दक्षिणायन भरि १२ पक्ष अर्थात् ६ महिना बु:मतीमा र सूर्य उत्तरायण भरि १२ पक्ष अर्थात् पछिको ६ महिना मत्स्येन्द्रनाथलाई पाटनको मच्छिन्द्र ब:हालमा राखिन्छ ।
पाटनबाट दक्षिणायनमा बु:मती रहेको र सो ठाउँबाट उत्तरायणमा पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु:मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको वासस्थान रहने प्रचलन यद्यपि छ ।
रातो मत्स्येन्द्रनाथलाई लिच्छवी राजा जयदेव द्वितीयले आसामको कामारूपबाट ल्याएका भन्ने धार्मिक विश्वास छ । रातो मत्स्येन्द्रनाथलाई रक्तावलोकितेश्वर, बुंगमलोकेश्वर, मच्छिन्द्रनाथ, लोकनाथ, बुंगद्यो आदि नामले पनि पुजिने गरिन्छ ।
हिन्दु धर्मावलम्बीहरूले रातो मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबद्धमध्येका चौथो बुद्ध) का रूपमा पुज्ने गर्दछन् ।
आज रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर पाटन ग:बहाल पुर्याइने छ । मत्स्येन्द्रनाथको रथसँगै उनका गुरु मीननाथको समेत रथयात्रा गरिन्छ ।
तस्वीरहरू:-



Facebook Comment
Comment