काठमाडौं । इजरायलले गाजा युद्धका क्रममा अमेरिकी हतियार प्रयोग गरेर केही अवसरमा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको अमेरिकाले आशंका व्यक्त गरेको छ ।
यद्यपी, अमेरिकी सरकारले पनि यसबारे पूर्ण जानकारी नभएको बताएको छ । यसबारे अमेरिकी संसदमा प्रतिवेदन पनि पेस गरिएको छ ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले गत वर्षदेखि पठाएको अमेरिकी हतियार इजरायलले कसरी प्रयोग गर्यो भन्ने विषयमा अनुसन्धान गर्न आदेश दिएका छन् ।
अमेरिकाले हालै इजरायललाई गाजाको रफाहमा कुनै ठूलो कारबाही नगर्न आग्रह गरेको छ।
अमेरिकाले इजरायलले रफाहमा कुनै ठूलो कारबाही गरेमा हतियारको आपूर्ति बन्द गर्ने बताएको छ ।
तर, इजरायलले रफाहमा ठूलो कारबाही नगरी हमासविरूद्धको युद्ध जित्न नसक्ने दाबी गरिरहेको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले आवश्यक परे यो लडाइँमा इजरायल एक्लै उभिने बताएका छन् ।
यदि इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरूले चिन्ता व्यक्त गरेका छन् ।
Facebook Comment
Comment