नेता भएर अर्ती नदिनुस्, आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

नेपालभ्युज

नेता भएर अर्ती नदिनुस्, आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल
फाइल फोटो

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती नदिन सुझाएका छन । नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको बुधबार आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा हुँदैन भने । “नेतृत्व स्वयंले काम गर्नुपर्दछ । जसको सकारात्मक प्रभाव तलसम्म पुग्दछ”, उनले भने, “उपभोक्तामुखी सोचले व्यक्ति मात्र होइन, पार्टी पनि सिद्धिन्छ ।”

राजनीतिक लडाईंभन्दा आजको समृद्धिको लडाईँ अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उनले यो कठिन अवस्थालाई सामना गरेर सबैले आआफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रुपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गरे ।

उनले भने, “म अहिले कर्णाली सरकारको नेतृत्व गरिरहेको छु । म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन । यसमा सहयात्री दल, पार्टीभित्र पनि समकक्षी साथीहरु छन् । सबैको साथ सहयोगबाट मात्र परिणाम निकाल्न सकिन्छ । कर्णालीको विकास र समृद्धिको अभियानमा सबै एकमत हुन जरुरी छ । यसो हुनसके मात्र हामीले अपेक्षा गरेको सपना हुन्छ ।” उनले गलत काम गर्नेको पक्षमा नबोल्न र त्यस्ता कार्यमा नजोडिन पनि सुझाए ।

उद्घाटन कार्यक्रममा सहभागी एमालेका केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट, केन्द्रीय सल्लाहकार समितिका सदस्य बालाराम शर्मा, प्रदेश सचिव ध्रुवबहादुर शाही, जिल्ला अध्यक्ष कुलमणि देवकोटालगायतले अब्बल नेतृत्व चयन गर्न भन्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved