कतारका अमिरसँग प्रधानमन्त्रीको आग्रह : नेपालमा लगानीदेखि विपिन जोशीको रिहाइको पहलसम्म

नेपालभ्युज

कतारका अमिरसँग प्रधानमन्त्रीको आग्रह : नेपालमा लगानीदेखि विपिन जोशीको रिहाइको पहलसम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारी अमिरसँगको भेटवार्तामा विभिन्न विषय उठाएका छन् ।

उनले नेपालमा लगानी गर्नेदेखि  हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले लुम्बिनी र पोखराबाट कतारमा सिधा उडान संचालन गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतारका अमिरलाई यसतर्फ ध्यान दिन आग्रह गरे ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग भएको द्धिपक्षीय र प्रतिनिधिमण्डलस्तरको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको बताए ।

प्रधानमन्त्रीले नेपालमा शुद्ध पिउने पानीको पर्याप्त श्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना रहेको समेत उल्लेख गरेका थिए ।

उनले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताको टोली आउने अपेक्षा पनि रहेको बताए ।

नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।” उनले २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गरेको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरे । “कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करीब ४ लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताएका थिए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिक पठाउन नेपालमा व्यावसायिक तालीम र सीपविकास केन्द्र स्थापना गर्न लागिएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे ।

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन समेत आग्रह गरे ।

“आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।”

प्रधानमन्त्री प्रचण्डले थपे, “यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।”

पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापना होस् भन्ने कामना समेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved