वैदेशिक र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान छन्ः अर्थमन्त्री पुन

नेपालभ्युज

वैदेशिक र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान छन्ः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको जिकिर गरे । उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भएपनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान रहेको बताए ।

उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गरे । उनले प्रतिवद्धताहरु, नीतिका निरन्तरताहरु लगानी सम्मेलनमा देख्न सकिने बताए । उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताए ।

‘अब राजनीतिक रुपले लगानी सम्मेलन के हुन्छ भन्ने प्रश्न छ । हामी यसलाई कुनै पार्टी, सरकार विशेषको, कुनै गठबन्धन विशेषको नहोस् भनेर हामी यसलाई उद्घाटनदेखि समापनसम्म सबै सेसनमा सबै प्रवृत्तिहरु देखिने गरी काम गर्दैछौँ’ उनले भने, ‘त्यहाँ विज्ञ पनि होस्, लगानी कर्ताहरु पनि होउन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपले लेण्डरहरु पनि होउन्, अरु सक्सेस स्टोरीहरु होउन् । जसले सबैलाई प्रेरित गरोस् ।’

अर्थमन्त्री पुनले लगानीकर्ताहरुले प्रतिवद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरुको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरु लगानी कर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved