बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : अध्यक्ष यादव

नेपालभ्युज

बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

शनिवार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् । उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरेका हुन् । आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए । अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनले बताए ।

अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिन भित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरे । उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । उनले बाबुराम भट्टराई अधिक लोभि, पापी बनेको भन्दै भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको बताए ।

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उनीसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताए । उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए ।

अध्यक्ष यादवले बाबुराम वामपन्थी विचारबाट भाग्दाखेरी केशरजंग रायमाझी जस्तै हुन पुगेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved