बाबुरामलाई गंगानारायण श्रेष्ठको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?

नेपालभ्युज

बाबुरामलाई गंगानारायण श्रेष्ठको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माओवादी केन्द्र कसरी दुस्मन शक्ति भयो भन्दै अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रश्न गरेका छन् । शनिबार ललितपुरमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सहअध्यक्ष श्रेष्ठले यस्तो प्रश्न गरेका हुन् ।

उनले गत चुनाव अगाडी नै माओवादी केन्द्रसँग चुनावपछि एकता गरेर जाने सहमति गरेको भए पनि अध्यक्ष भट्टराई एकता गर्ने पक्षमा नउभिएको भन्दै यसले आफूहरूलाई आश्चर्य बनाएको बताए । उनले माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्ताबेजको आधारमा नेसपाको नजिकको राजनीतिक शक्ति माओवादी केन्द्र नै भएको उल्लेख गरे ।

उनले भने, ‘आज उहाँहरूले विशेष गरेर नेकपा(माओवादी केन्द्र)को बारेमा नेकपा(माओवादी केन्द्र) पश्चगामी भयो । यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा लैजान सक्छ । नेकपा(माओवादी केन्द्र)को अध्यक्ष प्रचण्डको बारेमा सार्वजनिक अभिव्यक्तिहरू जो उहाँहरूले दिइराख्नुभएको छ ? यसमा कत्तिको तारतम्य छ ? कत्तिको सत्यता छ ? म माओवादीको प्रवक्ता बनेर यहाँ बोलिराखेको छैन । तर इतिहास भनेको इतिहास हो । सत्य कुरालाई हामीले जहिल्यै पनि स्विकार्ने आँट, साहस गर्नुपर्छ ।’

‘हिजो नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित गरेको दस्ताबेजलाई दशचोटी पढेर नेपाल समाजवादी पार्टीले नेकपा(माओवादी केन्द्र) सबैभन्दा नजिकको राजनीतिक शक्ति हो त्यसले गर्दा सबभन्दा नजिकको राजनीतिक शक्तिसँग पार्टी एकीकरण गर्नुपर्छ भनेर त्यो बेला निर्णय गरिएको हो । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्ताबेज आज कमा र फुलस्टप पनि परिवर्तन भएको छैन । त्यो जस्ताको तस्तै छ’,उनले भने, ‘त्यो पारित गर्ने पार्टी, पारित गर्ने पार्टीको नेतृत्व, कार्यकर्ताहरू, प्रतिनिधिहरू आज पनि जस्ताको तस्तै छन् । जब एउटा कमा र फुलस्टप पनि परिवर्तन भएको छैन भने हिजो त्यही दस्ताबेज कसरी क्रान्तिकारी भयो ? त्यही दस्ताबेज आधारमा माओवादी केन्द्र सबभन्दा बढी नजिकको मित्रशक्ति कसरी भयो ? र आज नेकपा(माओवादी केन्द्र) फेरी दुस्मन शक्ति कसरी बन्न खोजिराखेको छ ? त्यसको आधार के हो ? मन पर्दा खेरी सबै कुराहरू सुगन्ध आउने, मन नपर्न थालेपछि सबै कुराहरू दुर्गन्ध आउने हुन्छ ? त्यो राजनीतिक इमानदारिता हो ? राजनीतिक इमानदारिता होइन ।’

सहअध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराईले नै अग्रगामी शक्तिहरूका बिचमा एकताको कुरा नउठाएको भन्दै उनि माओवादी केन्द्रसँगको एकताबाट भाग्न नपाउने बताए । उनले आफूहरूलाई आरोपित गरेर डा. भट्टराई पानी माथिको ओभानो बन्न नसक्ने बताए ।

उनले डा. बाबुराम भट्टराई विचलनमा परेको भन्दै विचलनले कुनै निष्कर्षमा पुर्‍याउन नसक्ने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved