‘आतंककारीलाई घर-घरमा घुसेर मार्ने’ मोदीको अभिव्यक्तिप्रति अमेरिकाले के भन्यो ?

नेपालभ्युज

‘आतंककारीलाई घर-घरमा घुसेर मार्ने’ मोदीको अभिव्यक्तिप्रति अमेरिकाले के भन्यो ?

काठमाडौं । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी(Narendra Modi)ले ‘आतंककारीलाई घरघरमा घुसेर मार्ने’ अभिव्यक्ति दिएका छन् ।

उत्तराखण्ड राज्यमा भएको चुनावी र्‍यालीमा प्रधानमन्त्री मोदीले भने, ‘आज भारतमा मोदीको बलियो सरकार छ, त्यसैले घरघरमा घुसेर आतंककारीलाई मारिन्छ ।’ यो भनाई विरोध तथा प्रशंसा भइरहेको छ ।

बीबीसीका अनुसार मोदीको भनाईमा अमेरिकाले पनि प्रतिक्रिया दिएको छ । अमेरिकाले प्रधानमन्त्री मोदीको यो भनाइ र भारतमाथि नाकाबन्दी किन नगर्ने भन्ने प्रश्नको जवाफ दिएको छ ।

मंगलबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरलाई प्रधानमन्त्री मोदीको भनाइमा प्रश्न सोधिएको थियो ।

म्याथ्यु मिलरलाई सोधिएको थियो, ‘भारतीय प्रधानमन्त्री मोदी र रक्षामन्त्री अमित शाहले आफ्नो चुनावी अभियानमा भारतले सीमा पार गर्न र आतंकवादीहरूलाई मार्न हिचकिचाउने छैन भन्नुभएको थियो। एक हिसाबले उनीहरूले क्यानडा र पाकिस्तानमा निज्जर, गुरपतवन्त सिंह पन्नुको हत्या स्वीकार गरिरहेका छन् । के यो कथन बिडेन प्रशासनको लागि चिन्ताको विषय हो ?’

मिलरले जवाफमा भने, ‘हामीले पहिले नै भनेका छौं, हामी यसको बीचमा जानेछैनौं । तर, हामी भारत र पाकिस्तान दुवैलाई तनावबाट बच्न र वार्ताबाट समाधान खोज्न प्रोत्साहित गर्नेछौं।’

सोही पत्रकार सम्मेलनमा मिलरलाई सोधिएको थियो, ‘विगतमा हामीले अमेरिकी भूमिमा हत्या गर्ने केही विदेशीमाथि प्रतिबन्ध लगाएको देख्यौं, तर, भारतको सन्दर्भमा हामीले त्यस्तो देखेका छैनौं, छुट दिनुको कारण के हो ?’

मिलरले भने, ‘म प्रतिबन्धसम्बन्धी कुनै पनि कारबाहीको बारेमा कुरा गर्दिनँ, यसको मतलब यो होइन कि हामी प्रतिबन्ध लगाउन जाँदैछौं। तर, यदि तपाइँ प्रतिबन्धहरूको बारेमा सोध्नुहुन्छ भने यो त्यस्तो चीज हो जुन हामी खुलेर बाहिर छलफल गर्दैनौं।’

हालै भारतले क्यानडा, अमेरिका र पाकिस्तानमा हत्या गरेको आरोप लागेको छ । भारतले यस्ता आरोपलाई औपचारिक रूपमा अस्वीकार गर्दै आएको छ ।

तर, अहिले भारतमा चुनावी सभाहरू धमाधम भइरहेका छन् । त्यसक्रममा सत्तारूढ भाजपाका नेताहरूले ‘आतंकवादी मार’ जस्ता बयानबाजी गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved