दुई सातामा दुई सय हेक्टर वनमा डढेलो

नेपालभ्युज

दुई सातामा दुई सय हेक्टर वनमा डढेलो

गुल्मी ।  एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जंगल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन् ।

डिभिजन वन कार्यालय गुल्मीले दिएको जानकारीअनुसार जिल्लामा आजसम्म दुई सयभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ । दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतङ्कित बनाउन थालेको छ । कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जङ्गल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बाध्यता छ । रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि भनेर मानिसमा त्रासैत्रासमा रात गुजार्ने गर्दछन् ।

जब गर्मी मौसम सुरु हुन्छ तब यस्ता आगलागीका घटना बढ्दै जाने गर्दछन् । गत दुई साताको अवधिमा गुल्मीको रेसुङ्गा, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, इस्मा, कालीगण्डकीलगायत पालिकामा बढी मात्रामा डढेलो लागेको छ । निजी जङ्गलमध्ये ६० हेक्टरमा डढेलो लागेको छ । निजी जङ्लको तुलनामा सामुदायिक वन क्षेत्रमा आगलागीको घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत राजन कुँवरले जानकारी दिएका छन् ।

जङ्गलमा आगो लगाएपछि राम्रोसँग घाँस पलाउने, आगोले जङ्गलमा रहेका काठदाउरा सुक्ने हुँदा घाँस तथा दाउराको लोभमा वनमा डढेलो लगाउने बताइएको छ । मानिसमा चेतनाकै अभावका कारण गुल्मी जिल्लामा दिनहुँ आगलागीका घटना बढेको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत पङ्कजकुमार ठाकुरले बताए ।

आगो लागाउने व्यक्तिलाई कडा सजायको व्यवस्था छ तर आगो कसले लगाएको हो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएका कारण कतिपय घटनामा आवश्यक कानुनी कारबाही प्रक्रियाअघि बढाउन नसकिएको उनले बताए।

आगलागीका कारण स्थानीयवासीलाई मात्र नभई जिल्लास्थित सुरक्षाकर्मीलाई हैरानी थपिएको छ । आगलागीको जानकारी पाएपछि प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेर आगो निभाउने काममा सक्रिय बनेका हुन्छन् । यसले स्थानीयवासीलाई जोखिमबाट जोगाउनेमा थप मद्दत मिलेको छ ।

गत १४ वर्षअघि इस्मा गाउँपालिकाअन्तर्गत हस्तिचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीको अकालमै ज्यान गयो । त्यसैगरी, गत आठ वर्षअघि मदाने गाउँपालिकाअन्तर्गत मलायगिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा स्थानीय कमल खड्का र इस्मा गाउँपालिकास्थित दोहलीका तुल्सी लामा गुरुङ, लोकबहादुर गुरुङ र गोपाल सुनारको पनि डढेलो नियन्त्रणको क्रममा आगोमा परेर ज्यान गएको थियोे ।

जिल्लाका विभिन्न जङ्गलमा अहिले पनि डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको खासै चासो देखिँदैन । आगलागी नियन्त्रणकै क्रममा पछिल्लो पाँच वर्षको अवधिमा ११ जनाको ज्यान गइसकेको छ तर राहतको प्रतीक्षामा बसिरहेका पीडित परिवाले भने अझैसम्म पनि राहत पाउन नसकेको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले बताए । उनले राहतका लागि कार्यालय, जिल्ला प्रशासनदेखि नेतालाई भने पनि पीडित परिवारले अझैसम्म राहत नपाएको गुनासो गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved