काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीहरुको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिर समेत गरे । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रवार गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा नयाँ नयाँ प्रयोग नभई बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्क समेत गरे।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिहरुको विकल्प नभएको दोहोर्याए । उनले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशहरुको दृष्टान्त पेश गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलहरुले मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताए । मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठूला राजनीतिक दलहरुबाट मात्रै सम्भव रहेको महासचिव पोखरेलको भनाई थियो ।
उनले भने, ‘हामी हाम्रो मुलुक भित्र नयाँ र पुरानोको बहस गरेर के गरिरहेका छौं ? मुलुकमा राजनीतिक अस्थिरतालाई मलजल गरिरहेका छौं । जे समस्या हो, त्यो समस्यालाई विस्तार गरिरहेका छौं । समस्या हल गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुन सकिराखेको छैन ।’
महासचिव पोखरेलले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमालेमात्रै भएको दाबी पनि गरे ।
Facebook Comment
Comment