वर्ष ०८० का महत्त्वपूर्ण राजनीतिक घटना : खाण-रायमाझीको जेल यात्रादेखि श्रीमान्-श्रीमतीको घर झगडासम्म
राजनीतिकरूपमा वर्ष ०८० उथलपुथलपूर्ण रह्यो । त्यसो त मुलुक राजनीतिकरूपमा प्राय: ‘अशान्त’ नै रहने गर्छ । तर, गुज्रिएका अन्य वर्षहरूका तुलनामा वर्ष ०८० बढी नै उचारचढावपूर्ण हो भन्ने भान हुन्छ ।
नेपालभ्युज
काठमाडौं । राजनीतिकरूपमा वर्ष ०८० उथलपुथलपूर्ण रह्यो । त्यसो त मुलुक राजनीतिकरूपमा प्राय: ‘अशान्त’ नै रहने गर्छ । तर, गुज्रिएका अन्य वर्षहरूका तुलनामा वर्ष ०८० बढी नै उचारचढावपूर्ण हो भन्ने भान हुन्छ ।
तीमध्ये केही घटनालाई प्रमुख ठानेर यहाँ स्मरण गरिएको छ, हेरौँ ।
उपनिर्वाचनमा नयाँ दल रास्वपालाई २ सिट
वैशाख १० गते तीन निर्वाचन क्षेत्रमा संसदीय उपनिर्वाचन भयो । तनहुँ १, चितवन २ र बारा २ मा ।
त्यो उपनिर्वाचन नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फाप्यो, चितवन २ र तनहुँ १ मा रास्वपाका क्रमश: रवि लामिछाने र स्वर्णिम लाग्लेले बाजी मारे । उता बारा २ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जिते, जो २०७९ मंसिर ४ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग सप्तरी २ मा दोब्बरभन्दा बढी मतले पराजित भएका थिए ।
मंसिर ४ को निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपतिक गरी २० सिट प्राप्त गरेको थियो । पछि सभापतिसमेत रहेका सभापति लामिछाने दोहोरो नागरिकता प्रकरणमा कारबाहीमा परे र सांसद पद गुम्यो । त्यसपछि उनी फेरि चितवन २ बाटै दोस्रोपटक निर्वाचित बने ।
तनहुँ १ बाट भने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जितेका थिए । पछि उनी राष्ट्रपति बनेपछि त्यस क्षेत्रबाट रास्वपाका वाग्लेले जिते, वाग्ले कांग्रेसी-लीगेसीकै नेता हुन् । ३ सिटका लागि भएको उपनिर्वाचनमा रास्वपाले २ सिट जित्दा अरु ठूला दलहरू हेरेको-हेर्यै भए ।
पूर्वमन्त्रीद्वय रायमाझी-खाण जेल चलान
यस वर्ष पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाण पक्राउ परे । माओवादी-लीगेसी भएका रायमाझी नेकपा (एमाले) का सचिव थिए, उनी पूर्वउपप्रधानमन्त्रीसमेत हुन् ।
खाण भने नेपाली कांग्रेसभित्र प्रभावशाली नेताका रुपमा गनिन्छन्, विद्यार्थी राजनीतिबाट उदाएका उनी कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र हुन् ।
उनीहरू दुवै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर पूर्पक्षका लागि जेल चलान भएका हुन् । खाण र रायमाझी क्रशम: वैशाख २७ र ३१ गते पक्राउ परेका थिए । सात महिनाको बसाइपछि खाण मंसिर २८ मा उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका छन् भने रायमाझी अझै केन्द्रीय कारागार, सुन्धारामा कैदीकै रूपमा छन् ।
यसबाहेक अन्य भ्रष्टाचारका फाईलहरू पनि अलि बढी खुले यसपटक । तत्कालिन उपप्रधान एवम् गृहमन्त्री बनेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाईलहरू खोल्ने र दोषी देखिए कसैलाई नछाड्ने प्रण लिएका थिए । त्यसअनुरूप उनले केही काम गरे । तर, पछि आफ्नै पार्टीका उपाध्यक्ष कृष्णप्रसाद महरालाई सुन प्रकरणमा उन्मुक्ति दिएको भन्दै उनको व्यापक आलोचना भयो ।
अहिले उनी परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा छन् ।
सत्ता गठबन्धमा अस्वाभाविक उलटफेर
यसपटक सत्ता गठबन्धनमा चाँडो-चाँडै परिवर्तन भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पालैपालो सत्ता-सहयात्री बनाए ।
२०७९ मंसिर ४ को निर्वाचनपछि पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहित, रास्वपा, जसपा, नेकपा (एकीकृत समाजवादी) लगायतका दललाई समेटेका थिए ।
फाइल तस्वीर
त्यसपछि दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन कांग्रेसमा सारे । कांग्रेससँगैको गठबन्धन बनाएर चुनाव लडेका प्रधानमन्त्री प्रचण्डले फेरि कांग्रेसतर्फ नै गठबन्धन सारेका थिए ।
त्यस गठबन्धनमा एमाले, रास्वपा र राप्रपाबाहेक प्राय: दलहरू सहभागी भएका थिए । तर, एक वर्ष पुगेपछि प्रधानमन्त्री प्रचण्डले फेरि सत्ता गठबन्धनमा एमालेतिरै सारे । गत फागुन २१ गते उनले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाएर एमालेलाई प्रमुख सत्ता साझेदार बनाए । त्यस सत्ता गठबन्धनमा एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी सहभागी छन् ।
यसअनुरूप नै प्रदेश सरकारहरू परिवर्तन भइरहेका छन् । निर्वाचन भएको १६ महिनापछि फेरि एमाले-माओवाद केन्द्रबीच सत्ता-सहकार्य भएको छ । यसलाई कतिपयले उत्तरी दबाबको परिणाम भनेका छन् ।
तर, राजनीतिक विश्लेषकहरूले भने जतिबेला पनि प्रधानमन्त्री प्रचण्डले पुन: एमाले नेतृत्वको सरकार फुटाएर पुन: कांग्रेससँग मिल्नसक्ने बताएका छन् । कांग्रेसले भने एमालेलाई ‘मिलेर सरकार बनाउँ’ भन्ने प्रस्ताव गरिरहेको छ ।
राष्ट्रिय सभामा नयाँ नेतृत्व र दलीय हैसियत
६ वर्ष पहिले राष्ट्रियसभा अध्यक्ष निर्वाचित गणेशप्रसाद तिमिल्सिनाको पदावधि गत फागुन २० गते सकियो । त्यसको ९ दिनपछि फागुन २९ गते राष्ट्रिय सभाले नयाँ नेतृत्व पायो, अध्यक्ष बने माओवादी केन्द्रका नारायण दाहाल ।
यस्तै उपाध्यक्षमा गत चैत २८ गते एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । त्यसअघि उपाध्यक्षको भूमिकामा माओवादी केन्द्रकै उर्मिला अर्याल थिइन् । माओवादी केन्द्रले अध्यक्ष पाएपछि उपाध्यक्ष रहेकी अर्यालले राजीनामा दिएकी थिइन् ।
यससँगै राष्ट्रिय सभामा दलहरूको हैसियत पनि फेरिएको छ । अहिले त्यहाँ सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो । गत माघ ११ गते भएको निर्वाचनले माओवादी केन्द्रलाई सभाको सबैभन्दा ठूलो दलको रूपमा स्थापित गराएको छ ।
अहिले राष्ट्रिय सभामा माओवादी केन्द्रका १९, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका २, लोसपाका १ र जनमोर्चाका १ सांसद छन् ।
नाउपामा श्रीमान्-श्रीमतीको घर-झगडा
२०७९ मंसिर ४ को निर्वाचनबाट राजनीतिक शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले घर-झगडा फसेको छ ।
पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशम चौधरीबीचको घर-झगडाको चपेटामा पार्टी र पार्टीका नेताहरू परेका छन् । रेशम-रञ्जिता श्रीमान्-श्रीमती हुन् । पार्टी कसले नेतृत्व गर्ने भन्ने सन्दर्भमा कुरा नमिल्दा उनीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ ।
पार्टी कसले नेतृत्व गर्ने भन्नेबाट सुरू भएको उनीहरूबीचको विवाद सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्नेसम्म आइपुग्दा पार्टी विभाजनको डिलमा पुगेको आकलन गरिन्छ । रञ्जिता नयाँ गठबन्धनसँग सहकार्य गर्न चाहन्छिन् भने रेशम त्यो मान्दैनन् । यसपछि नाउपाको आन्तरिक कलहमा प्रधानमन्त्री प्रचण्डले समेत सरोकार राखे र रेशम-रञ्जितासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
अहिले रञ्जिताले रेशमनिकटका नेता तथा सांसदमाथि कारबाहीको डण्डा चलाउने र रेशमनिकटका नेता/कार्यकर्ताहरू त्यसको प्रतिवादमा उत्रिने क्रम जारी छ । नाउपाभित्रको विवादका कारण सुदूरपश्चिम प्रदेश सरकार गठनमा समेत अन्योलता छाएको छ । अब नाउपाभित्र के हुन्छ, यसै भन्न सकिने अवस्था छैन ।
राजावादीहरूको ‘सिलिङबिलिङ’
तुलनात्मकरूपमा यस वर्ष राजावादीहरू बढी सक्रिय देखिए । मुलुकमा ‘राजा चाहिन्छ’ भन्ने पार्टी राप्रपाबाहेक अन्य सङ्घ/सङ्गठन तथा व्यक्तिहरू पनि सक्रिय देखिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नागरिक बचाउ अभियानका नाममा मंसिर ७ गते काठमाडौंमा राजावादी प्रदर्शन गरे । उनले नेपाल हिन्दूराष्ट्र कायम गर्नुपर्नेलगायतका मागहरू राखेका थिए ।
यता राजावादी दल राप्रपा चर्को आन्दोलन गरिरहेको छ । उसले सैवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रदेश संरचनाको खारेजी, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका ४० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । उसले चैत २७ गते मात्रै काठमाडौंमा प्रदर्शन गरेको थियो ।
यस्तै पूर्वराजा ज्ञानेन्द्र पनि अलि बढी सार्वजनिक सभा/समारोहहरूमा देखिन थालेका छन् । उनलाई नागरिक अभिनन्दन गर्ने क्रम जारी छ । यसरी हेर्दा उनी बढी राजनीतिकरूपमा सक्रिय छन् ।
Facebook Comment
Comment