काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नै नेतृत्वमा सरकार निर्माणको पहललाई तिब्रता दिएको छ ।
केन्द्रमा भएको नयाँ सत्तागठबन्धन दलसँगको समर्थनमा नाउपाले सुदुरपश्चिममा नयाँ सरकार निर्माणको गृहकार्य अघि बढाएको हो ।
नाउपा संसदीय दलका नेता कैलाश चौधरीले आफ्नो नेतृत्वमा सरकार बनाउन दलीय छलफल बढाएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई हटाएर संसदीय दलको नेतामा कैलाश चौधरीलाई तोकेकी छन् ।
कैलाश चौधरीले भोलि वैशाख १ गते प्रदेश प्रमुखसमक्ष पेस गर्ने जानकारी दिए ।
केन्द्रमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने शीर्ष नेतृत्वबिच सहमति भएको थियो तर पछिल्लो समय पहिलो चरणमा नाउपाको सरकार बनाउने अनि केही समयपछि नाउपाले समाजवादीलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको चौधरीले दाबी गरे ।
नेपाली कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सरकार चैत्र २२ गते ढलेपछि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गतेभित्र सरकार गठनका लागि आव्हान गरिसकेका छन् ।
प्रदेश सरकार गठनका लागि २६ सांसद चाहिन्छ । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।
प्रदेशमा सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेस पनि आफ्नो नेतृत्वमा सरकार गठनको कसरतमा छ ।
कांग्रेस नाउपाकै केही सांसदको समर्थनमा सरकार निर्माणको कसरतमा जुटेको हो ।
वैशाख २ गतेभित्र सरकार बन्न नसकेको अवस्थामा संविधानको धारा १६८ को ३ अनुसार कांग्रेसलाई ठुलो दलको हैसियतले पुनः सरकार बनाउने बाटो खुल्ने भएकोले कांग्रेसले सत्ता गठबन्धनलाई सरकार बनाउन असफल पार्ने रणनीतिमा लागेको हो ।
नाउपाका ४ सांसद अहिले पनि कांग्रेस नेतृत्वको काम चलाऊ सरकारमा पनि सहभागी छन् ।
घनश्याम चौधरी आर्थिक मामिला, खुसीराम चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन् भने लक्ष्मण किशोर चौधरी सामाजिक र रामेश्वर चौधरी कृषि तथा सहकारी मन्त्री हुन् ।
Facebook Comment
Comment