इक्वेडरविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा पुग्यो मेक्सिको

नेपालभ्युज

इक्वेडरविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा पुग्यो मेक्सिको

एजेन्सी । मेक्सिकोले क्विटोमा आफ्नो दूतावासमा भएको हमलालाई लिएर हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इक्वेडरविरुद्ध मुद्दा दायर गरेको बिहीबार बताएको छ ।

विदेशमन्त्री एलिसिया बार्सेनाले पत्रकार सम्मेलनमा भनिन्, “मुद्दामा मेक्सिकोले ‘अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त र मान्यताहरूको उल्लङ्घनलाई मान्यता दिँदै’ सार्वजनिकरूपमा माफी नमागेसम्म इक्वेडरलाई संयुक्त राष्ट्रसङ्घबाट निलम्बन गर्न अनुरोध गरिरहेको छ ।”

उनले मुद्दाको लक्ष्य ‘मेक्सिकाली राज्य र उसका नागरिकहरूलाई परेको नैतिक क्षतिको भर्पाईको प्रत्याभूति दिनु थियो’ भनिन् ।

इक्वेडरको सुरक्षा बलहरूले आफ्ना पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई पक्रन शुक्रबार राति मेक्सिकाली दूतावासमाथि हमला गरेका थिए । घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुन् र उनलाई मेक्सिकोले शरण दिएको थियो ।

अभेद्य कूटनीतिक क्षेत्रमा भएको दुर्लभ घुसपैठले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गराएको छ र मेक्सिकोलाई इक्वेडरसँग सम्बन्ध तोड्नका लागि बाध्य बनाएको छ । साथै मेक्सिकोले आफ्ना कूटनीतिज्ञहरूलाई इक्वेडरबाट बाहिर निकालेको छ ।

सोही पत्रकार सम्मेलनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले अन्तर्राष्ट्रिय कानूनको प्रत्याभूति होस् भन्ने हिसाबले विश्वका कुनै पनि मुलुकले यस्तो नदोहोर्याउन् भन्ने लक्ष्य रहेको बताए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved