काठमाडौं । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा निजी क्षेत्रले बाह्र परियोजनाहरू छानेको छ । उक्त सम्मेलनमा सहभागिता जनाउने विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गर्न निजी क्षेत्रले १२ परियोजना तयार पारेको हो ।
जसमा हालसम्म दुई दर्जनभन्दा बढी देशका लगानीकर्ताले सहभागिताको प्रतिबद्धता जनाइसकेको सम्मेलनमा निजी क्षेत्रको छाता सङ्गठन र अन्य संस्थाले समेत आयोजनाको सूची तयार पारेका छन् ।
सह–आयोजकको भूमिकामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स छन् । लगानी बोर्डको कार्यालयले यी तीनै छाता सङ्गठनलाई आयोजना पहिचान गर्न अनुरोध गरेको थियो ।
सोअनुसार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना पहिचान गरेर प्रस्तुत गर्नका लागि बोर्डको कार्यालयमा पठाइसकेको छ । बोर्डले दिएको जानकारीअनुसार निजी क्षेत्रबाट सम्मेलनमा प्रस्तुतका लागि १२ वटा आयोजनाको सूची आएको छ ।
जसमा अमेरिका चेम्बर अफ कमर्स र खनिज उत्खनन उद्योग प्रालि समेत छन् । महासङ्घले ७, अमेरिका चेम्बरले ४ र खानि उत्खनन उद्योगले एउटा आयोजनाको सूची पठाएको छ ।
महासङ्घले सिकलेस–अन्नपूर्ण केबलकारलाई सम्मेलनमा प्रस्तुत गर्नुपर्ने परियोजनाको सूचीमा राखेको छ । यसपछि भरतपुर आइसल्यान्ड रिसोर्ट एन्ड वाटरल्याण्ड, मध्य कालिगण्डकी हाइड्रोपावर, तिप्ल्याङ कालिगण्डकी हाइड्रोपावर, आईएमई सिमेन्ट र काठमाडौं प्राविधिक स्कुलजस्ता परियोजना सम्मेलनमा प्रस्तुत गर्नुपर्नेको सूचीमा राखेर बोर्डमा पठाएको छ ।
यस्तै अमेरिका चेम्बरले ह्याप्पी ल्याण्ड पार्क एन्ड रिसोर्ट, एडभेन्चर रिसोर्ट एन्ड रिट्रिट सेन्टर, कम्पोस्ट फर्टिलाइजर कम्पनी र बहुतले पार्किङ परियोजना बोर्डलाई पठाएको छ । यसबाहेक खानी उत्खनन उद्योगले अर्घाखाँची र प्युठानमा चुनढुङ्गा उत्खनन परियोजनालाई प्रस्तुत गर्नुपर्ने सुझाव पठाएको छ ।
Facebook Comment
Comment