नेपाल आँखा अस्पताल स्थापनाको ५० वर्ष पूरा, ३४ लाखभन्दा बढीको परीक्षण

नेपालभ्युज

नेपाल आँखा अस्पताल स्थापनाको ५० वर्ष पूरा, ३४ लाखभन्दा बढीको परीक्षण

नेपाल आँखा अस्पताल स्थापना भएको ५० वर्ष पूरा भएको छ । आइतबार स्वर्ण महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अस्पतालले ५० वर्षको अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण गरेको र १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी दिएको छ ।

काठमाडौँको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताल नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने पहिलो अस्पताल भएको अस्पतालका सचिव युद्धध्वज सापकोटाले जानकारी दिए । उनले भने, ‘केही महिना अगाडि अस्पतालले सानो बच्चाको आँखाको शल्यक्रिया गरेको सुन्नुभएको होला । समय नपुगी जन्मिने बच्चाको आँखा स्कृनिङ सेवा प्राथमिकताका साथ लागू गरेका छौँ, हालै मात्र ४०० जनाको स्कृनिङ गर्दा ३५ जनामा समस्या देखिएको थियो ।’

सो अस्पतालमा १५ जना नेत्र विशेषज्ञ र ११३ जना कर्मचारी कार्यरत छन् । कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवम् बाल आँखा सेवाका लागि अलग्गै विभागहरूबाट सेवा प्रदान गरिँदै आएको सापकोटाले बताए ।

आधुनिक प्रविधि र गुणास्तरीय उपकरणबाट सेवा दिँदै आएको अस्पतालले आँखा निदान एवं उपचारका लागि आवश्यक अनुसन्धान गर्न बोर्ड गठन गरी काम सुरु गरेको जनाएको छ ।

अस्पतालमा चालु आर्थिक वर्षको ८ महिनामा बहिरङ्ग विभागबाट १ लाख १ हजार ७३४ जनाले सेवा लिएका छन् । हाल दैनिक ४०० देखि ७०० जना बहिरङ्ग सेवा लिन अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालले विद्यालयस्तरका विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चस्मा प्रदान गर्ने गरेको समेत सापकोटाले बताए । यस वर्ष मात्रै १४,९९४ जनाको दृष्टि परीक्षण गरी १,०१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved