आगामी आर्थिक वर्षको बजेट ५७ अर्बले घट्ने, स्रोतको कमी प्रमुख कारण

नेपालभ्युज

आगामी आर्थिक वर्षको बजेट ५७ अर्बले घट्ने, स्रोतको कमी प्रमुख कारण
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ (Dr, Min Bahadur Shrestha) ले आगामी आर्थिक वर्षको बजेट (Budget) को सिलिङ बढे पनि ५७ अर्ब रुपैयाँ घटेको बताएका छन् ।

मंगलवार राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तय भएको जानकारी दिए । गत वर्षको तुलनामा ४९ अर्ब बजेटको सिलिङ बढेको भए पनि वास्तविक बजेट १६ खर्ब ९४ अर्बको मात्रै भएको उनको भनाइ छ ।

उपाध्यक्ष डा.श्रेष्ठले १८ खर्बको बजेट सिलिङमा १ खर्ब ६ अर्ब आगामी वर्ष सरकारले ऋणको साँवा ब्याज तिर्नुपर्ने हुँदा वास्तविक बजेट १६ खर्ब ९४ अर्बको मात्रै मन्त्रालयहरुलाई बाँडफाँड गर्ने बताए । मन्त्रालयहरुलाई वितरण गर्ने बजेटमा धेरथोरले कमी आएको जानकारी दिँदै डा. श्रेष्ठले बजेट घटाउनुपर्ने अवस्था भएपनि कामहरु धेरै गर्नुपर्ने भएको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले बजेटलाई तीन समूहमा विभाजन गरी प्रस्ताव गरिएको जानकारी दिँदै स्रोतको कमी भएको कारण बजेटको सिलिङ कम गरिएको बताए । उनले सरकारले कर छलीको हकमा केही सुधार गरी राजश्व वृद्धि गर्नेगरी कामको थालनी गरेको बताउँदै सरकारको पुँजीगत खर्च गर्ने रकम अहिले ५ खर्ब भएपनि खर्च गर्ने क्षमता कम भएका कारण पुँजीगत खर्च बढाउन केही संरचनागत र विधिगत व्यवस्थाहरु अगाडी बढाएको उल्लेख गरे ।

पुँजीगत खर्च हुने र वैदेशिक अनुदान पनि परिचालन हुने भएकाले बजेटको सिलिङ बढ्ने सम्भावना भने कायमै रहेको बताउँदै उनले अहिले अर्थतन्त्र सहज अवस्थामा नभएको भए पनि पछिल्लो समय सुधारका संकेतहरु देखापरेको दाबी गरे ।

उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट १६औं योजनाको पहिलो वर्ष भएकाले केही इन्टरभेन्टरका कार्यक्रमहरु अगाडि बढाएको जानकारी दिँदै १६ योजनामा विगतका योजनालाई निरन्तरता दिनेभन्दा पनि उत्पादन र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिइएको दाबी गरे । उनले सरकारले पूर्वाधार निर्माण गर्दा पनि उत्सादनसँग जोड्ने र विकासको मोडललाई नयाँ मोडलमा लैजान खाजिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved