प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन विपरित आज विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले दिने सहमति भएपनि कर्णालीका मुख्यमन्त्रीले त्यस विपरित विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्डले सोमबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर, त्यस विपरित मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने बताएका छन् ।

अध्यक्षले मुख्यमन्त्रीलाई फोन गरेर एमालेलाई नेतृत्व छाड्न भनेको र अहिले संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वास मतका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिने सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।

‘मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिनुभएको छ ।’ उनले भने,‘मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यही आधारमा अघि बढ्छ ।’

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्छ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीका १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved