मस्को आक्रमणका संदिग्ध शम्सिद्दीनको गाउँ पुग्दा…

नेपालभ्युज

मस्को आक्रमणका संदिग्ध शम्सिद्दीनको गाउँ पुग्दा…
संदिग्ध फरिदुनी शम्सिद्दीन

काठमाडौं । गत आइतबार ताजिकिस्तानका चार नागरिकलाई रूसको मस्को अदालतमा पेस गरिएको थियो ।

उनीहरूमाथि मस्कोको कन्सर्ट हलमा घातक हमला गरेको आरोप छ । जसमा कम्तिमा १३९ जनाको मृत्यु भएको थियो।

सुनुवाइको फुटेजमा चारै संदिग्ध फरिदुनी शम्सिद्दीन, दालेदजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली राखबालिजोडा र मुहम्मदसोबिर फैजोभको अनुहारमा गहिरो चोट लागेको देखिन्छ ।

हिंसात्मक सोधपुछको भिडियो स्पष्ट रूपमा रूसी सुरक्षा बलहरूले लीक गरेका थिए । रिपोर्टहरूको दाबीअनुसार तीमध्ये एक जनालाई विद्युतीय झट्का लगाइएको थियो ।

संदिग्धमध्ये एक २५ वर्षीय शम्सिद्दीनको अनुहार सुन्निएको थियो ।

उनी को हुन् ? कस्ता चरित्रका व्यक्ति हुन् ? उनको पृष्ठभुमि के हो ? भन्ने जिज्ञासालाई मेटाउन म ताजिकिस्तानमा शम्सिद्दीनको परिवार बस्ने ठाउँमा गएँ ।

उनी ताजिकिस्तानको राजधानी दुशान्बेबाट ४० किलोमिटर उत्तर-पश्चिममा अवस्थित लोयोब गाउँका बासिन्दा हुन् । यहाँ करिब ६० परिवार बस्छन् ।

लोयोब यस्तो पहाडी गाउँ हो, जहाँ जमिन सुख्खा र मौसम मध्यम हुन्छ र नजिकै नदी पनि छैन। गाउँका युवाहरू मुख्यतया: कृषि, निर्माण वा स्थानीय बजारमा काम गर्छन्।

शनिबार म शम्सिद्दीनको घरमा पुग्दा ताजिक सुरक्षा बलहरूको ठुलो भिड थियो । संदिग्धका बुबालाई सोधपुछको लागि प्रहरीले लगेर गएको सुनेँ ।

नाम नबताउने सर्तमा एक गाउँलेले मलाई भने, ‘शम्सिद्दीन ६ महिनाअघि रूस गएका थिए ।’

कम ज्याला र बेरोजगारीका कारण आफ्नो देश छोडेर रसिया पुग्ने हजारौं ताजिकहरूमध्ये शम्सिद्दीन एक हुन्।

ताजिक प्रशासनले गत वर्ष ६५२ हजार ताजिक नागरिक रूस गएको बताए पनि रूसी अधिकारीहरूले यो संख्या करोडौं हुन सक्ने बताएका छन् ।

गाउँलेहरूले के भने ?

तीन महिनापछि शम्सिद्दीन रूसबाट टर्की गएर मार्चको सुरूमा फर्किएको गाउँलेहरू बताउँछन् ।

मैले गाउँका धेरै मान्छेसँग कुरा गरेँ, तर २५ वर्षका युवकले यस्तो ‘आतंकवादी हमला’ गर्न सक्छन् भन्ने कुरामा विश्वास गरेनन् ।

शम्सिद्दीनको सोधपुछको अनलाइन भिडियो फुटेज हेरेपछि एक गाउँलेले मलाई भने, ‘सुरक्षा अधिकारीहरूले उनलाई यति कुटपिट र यातना दिए कि उनी लेनिनको मृत्युको जिम्मेवारी लिनसमेत तयार भए ।’

रूसी सुरक्षा अधिकारीहरूले कथित रूपमा लीक गरेको तीन मिनेटको भिडियोमा एक सिपाहीले उनलाई कपाल समातेर भुइँमा तान्दा उनी काँपिरहेको देखिन्छन् ।

रूसी भाषामा शमसिद्दीन भन्छन्, ‘उनीहरूले पाँच लाख रूबलमा मस्को नरसंहार गर्न लगाएको हो ।’

ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले आक्रमणलाई ‘लज्जाजनक र भयानक’ घटनाको रूपमा वर्णन गर्दै आफ्ना बालबालिका र युवाहरूलाई अतिवादी समूहहरूको प्रभावबाट जोगाउन र ‘ताजिक राष्ट्रको नामलाई कलंकित हुन नदिने’ जनतालाई अपील गरेका छन् ।

मस्कोमा १३७ जनाको हत्या गर्ने चार आक्रमणकारी को हुन् ?

इस्लामिक स्टेट समूहले यस नरसंहारको जिम्मेवारी लिएको छ । र, आक्रमणको भिडियोसमेत जारी गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हमलामा पश्चिमी देश र युक्रेनका गुप्तचर निकायले सहयोग गरेको दाबी गरेका छन् । तर, युक्रेनले यो दाबी अस्वीकार गरेको छ ।

ताजिक राष्ट्रपति रहमोनले आइतवार पुटिनसँग फोनमार्फत् हमलाको निन्दा गर्दै भने, ‘आतंकवादीहरूको कुनै नागरिकता, मातृभूमि र कुनै धर्म हुँदैन।’

रूसमा ताजिक जनताको समस्या बढ्दै

गत हप्ता शुक्रबार भएको आक्रमणपछि रूसमा बसोबास गर्ने ताजिक नागरिकले यसको परिणाम महसुस गर्न थालेका छन् ।

मस्कोमा बस्ने एक ताजिक आप्रवासी कामदारले आफ्नो क्षेत्रमा सुरक्षा बलको संख्या बढाइएको र एसियाली जस्तो देखिनेहरूको कागजात जाँच भइरहेको बताए ।

कागजात नभएकालाई देश निकाला हुने खतरा छ।

ती व्यक्तिलाई आफ्नो भविष्यको चिन्ता छ । उनले भने, ‘अब आक्रमणकारीहरू ताजिकिस्तानी नागरिकको रूपमा पहिचान भइसकेकाले ताजिक जनताप्रति रूसी आक्रोश बढ्न सक्छ।’

ताजिकिस्तानमा लगभग हरेक परिवारका कम्तिमा एक सदस्य छन् जो कामको लागि रूस गएका छन्।

ताजिक आप्रवासीहरूले पठाएको रेमिटेन्स यस सानो तथा गरिब एसियाली गणतन्त्रको अर्थव्यवस्थाको लागि महत्त्वपूर्ण मानिन्छ । र, यसमा कुनै पनि कमीले ताजिकिस्तानका हजारौं परिवारको जीवनलाई असर गर्न सक्छ।

४० वर्षीय निर्माण मजदुर इराज आशुरोभ प्रायः आफ्ना दुई दाजुभाइ र दुई छोरासँग कामको लागि रूस जाने गर्छन्।

उनी भर्खरै ताजिकिस्तानमा आफ्नो परिवारलाई भेट्न फर्केका थिए । तर, गत शुक्रबारको हमलापछि रूस जाने कि भनेर चिन्तित छन्।

आशुरोभले मलाई भने, ‘म एक महिनाअघि मात्र रूसबाट फर्केको थिएँ र फेरि मस्को जान लागेको थिएँ, तर मस्कोमा भएको पछिल्लो घटनापछि म मेरा दाजुभाइलाई लिएर चिन्तित छु।’

सामान्यतया यस्तो अवस्थामा आप्रवासी कामदारहरूमा दबाब बढ्छ।

भ्लादिमिर पुटिनका प्रमुख सहयोगी रसियाली नेता सर्गेई मिरोनोभले भनेका छन्, ‘राष्ट्रिय सुरक्षा सुदृढ गर्नू मध्य एसियाली देशहरूबाट आउने मानिसहरूलाई भिसामुक्त प्रवेश अन्त्य गर्ने प्रस्ताव गर्ने तयारी छ ।’

उनी विश्वास गर्छन् कि चरमपन्थी आक्रमणहरू रोक्न रूसी सरकारले आप्रवासन प्रक्रियालाई कडा बनाउन आवश्यक छ।

इस्लामिक स्टेटले ताजिकहरूलाई कसरी भर्ती गर्छ ? 
हालैका वर्षहरूमा इस्लामिक स्टेटमा सामेल भएका अधिकांश ताजिकहरू रसियाका आप्रवासी कामदार हुन् र उनीहरूलाई सामाजिक सञ्जाल वा टेलिग्राम जस्ता मेसेजिङ एपहरूमार्फत् भर्ती गरिन्छ।

हालै इस्लामिक स्टेटको आक्रमणमा संलग्न भएको आरोप लागेका केही व्यक्तिले आफूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी पैसाको प्रलोभन दिएको स्वीकार गरेका छन्।

ताजिक सरकारले सन् २०१४-२०१६ को बीचमा इस्लामिक स्टेटको उदयका क्रममा २ हजार ताजिक नागरिक इस्लामिक स्टेटमा सामेल भएको बताएको छ, जसमध्ये अधिकांश रूसमा बसेका थिए।

राजधानी दुशान्बेस्थित अफगानिस्तान अध्ययन केन्द्रका प्रमुख कासिम शाह इस्कन्दरोभ मध्य एसियाली देशका आप्रवासी कामदारहरू अतिवादी समूहहरूमा भर्ती हुने सम्भावना बढी रहेको विश्वास गर्छन्।

उनले टर्कीको महत्त्वको बारेमा कुरा गरे, जहाँ ताजिक र रूसीहरूले भिसा बिना यात्रा गर्न सक्छन्। त्यसैले पछिल्लो समय आईएसको गोप्य गतिविधिको मुख्य केन्द्र बनेको छ ।

टर्कीले हालैको आक्रमणमा संलग्न ताजिक नागरिकहरू टर्कीमा चरमपन्थी नभई यसअघि नै प्रभावमा परेको बताएको छ।

रूस प्रवेश गरेपछि तीन आप्रवासी कामदारहरूले तीन महिनाभित्र आवास र कार्य अनुमति प्राप्त गर्नुपर्छ, जसको लागत ४० हजार रूबल पर्छ ।

खर्चबाट बच्नको लागि केही आप्रवासीहरू तीन महिनाको म्याद भन्दा पहिले रूस छोड्छन् र टर्की जान्छन् र त्यसपछि फेरि रसिया फर्कन्छन्।

इस्लामिक स्टेट समूहको मुख्य केन्द्र अफगानिस्तान हो र त्यहाँ ताजिक जनताको दिमाग धुने गरेको इस्कन्दरोभको विश्वास छ।

अफगानिस्तानको भूमिका
ताजिकिस्तानको दक्षिणी सीमा अफगानिस्तानसँग जोडिएको छ । सन् २०२१ अगस्टमा तालिबान सत्तामा आएदेखि अफगानिस्तानमा आईएस र अल-कायदा जस्ता संगठनहरूको उपस्थिति बढेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जारी गरेको पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा ठूलो संख्यामा चरमपन्थी समूह अझै पनि क्षेत्रीय सुरक्षाका लागि खतराको कारक मानिएको छ ।

रूसको नेतृत्वमा रहेको सैन्य संगठन सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) र ताजिकिस्तानले गत महिना मात्रै ताजिकिस्तानको दक्षिणी सीमामा आइएस लडाकु र अन्य इस्लामिक अतिवादीहरूको संख्या बढेको बताएको थियो।

सीएसटीओमा बेलारूस, काजाकिस्तान, किर्गिस्तान र आर्मेनिया (हालै यसको सदस्यता निलम्बन गरिएको) समावेश छन् ।

संगठनका अनुसार यी समूहहरूको तालिम शिविरको सञ्जाल पनि विस्तार भइरहेको छ र तिनीहरूका अधिकांश विदेशी लडाकुहरू ताजिकिस्तानसँग जोडिएको अफगानिस्तानको उत्तरी क्षेत्रमा छन्।

ताजिक नागरिक र आईएसबीचको सम्बन्ध

  • २०२३ अगस्ट १४ – इरानमा सशस्त्र आक्रमण, एक जनाको मृत्यु । मुख्य संदिग्ध ताजिक नागरिक ।
  • २०२४ जनवरी ०३ –  दक्षिणी इरानमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ८९ जनाको मृत्यु भएको छ । दुई ताजिक नागरिकहरू संलग्न ।
  • २०२४ जनवरी २८ – टर्कीको क्याथोलिक चर्चमा आक्रमण। एक संदिग्ध ताजिक नागरिक।

विगत १० वर्षमा ताजकिस्तानमा आतंकवाद र चरमपन्थीसँग सम्बन्धित ६,६८० अपराध भएका छन्। पछिल्लो तीन वर्षमा २४ ताजिक नागरिकले १० विभिन्न देशमा अतिवादी हमला गरेका छन् ।

२ हजार ताजिक नागरिक आईएसमा सामेल हुन सिरिया र इरान गएका छन् । तीमध्ये आधाको मृत्यु भएको अनुमान गरिएको छ । ४ हजार ७५ ताजिक नागरिकलाई ‘चरमपन्थी र आतंकवादी हमला’को लागी मुद्दा चलाइएको थियो।

(बीबीसी -सोहराब जिया)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved