मस्को आक्रमण : मृतकको संख्या १३३ पुग्यो, बदला लिने पुटिनको वाचा

आइतबार राष्ट्रिय शोक

नेपालभ्युज

मस्को आक्रमण : मृतकको संख्या १३३ पुग्यो, बदला लिने पुटिनको वाचा

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गरेका छन् ।

उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ ।

किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई जोडेनन् ।

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’ ।”

यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गर्दै एक सयभन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधनमा भने, “आतङ्कवादी, हत्यारा, गैर–मानवहरूको दुर्भाग्यशाली भाग्य मात्र हुन्छ : प्रतिशोध र विस्मृति ।”

“सबै चार प्रत्यक्ष अपराधी… गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ”, आक्रमणलाई ‘बर्बर आतङ्कवादी काम’ उल्लेख गर्दै उनले भने, “उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए, प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो ।”

पुटिनले हमलाकारीको तुलना ‘नाजी’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुस र हाम्रा मानिसविरुद्धको हमला’ थियो भने । उनले आइतबार राष्ट्रिय शोक मनाउने बताए ।

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । “सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ”, पुटिनले भने।

यसअघि एफएसबीले शनिबार थप विवरण नदिई आक्रमणकारीहरूको युक्रेनमा ‘सम्पर्क’ भएको बताएको थियो । विगत दुई वर्षदेखि रुसी सैन्य हमलाको सामना गर्दै आएको किएभले आक्रमणमा उसको सरोकार नभएको राष्ट्रपतिका सहयोगी मिखाइलो पोडोल्याकले एक विज्ञप्तिमा बताए ।

मस्को क्षेत्रका गभर्नरले उद्धारकर्मीले ‘धेरै दिन’ सम्म घटनास्थलको खोजबिन जारी राख्ने बताए। रुसको आपत्कालीन स्थिति मन्त्रालयका अनुसार एक सय सात मानिस अस्पतालमा छन् र तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

इस्लामिक स्टेट समूहले शुक्रबार जिम्मेवारी लिँदै आफ्ना लडाकूहरूले मस्कोको बाहिरी क्षेत्रमा ‘एउटा ठूलो सभा’ मा आक्रमण गरेको र ‘सुरक्षितरूपमा आफ्नो ठेगानामा फर्केको’ बताएको छ । सामाजिक सञ्जालमा राखिएको फुटेजमा केही प्रत्यक्षदर्शीले माथिल्लो तलाबाट बन्दुकधारीलाई गोली हानेर स्टलबाट जाँदै गरेको खिचेका थिए ।

अनुसन्धान समितिले भनेको छ, “त्यसपछि आतङ्कवादीहरूले दर्शक रहेको कन्सर्ट हलको परिसरमा आगो लगाउन ज्वलनशील तरल पदार्थको प्रयोग गरे, त्यहाँ घाइतेहरू पनि थिए ।” छ हजार सिट क्षमताको आयोजना स्थलमा आगो लागेपछि मानिसहरूको मृत्यु बन्दुकको गोली र धुवाँका कारण भएको अनुसन्धान समितिले बताएको छ ।

शुक्रबार तीव्रताका साथ आयोजना स्थलमा आगो फैलियो र कन्सर्टमा आएका मानिस चिच्याउँदै आपत्कालीन निकासतर्फ भागे ।

आक्रमणपछि मुलुकभरका प्रमुख कार्यक्रम रद्द गरिएका छन् । यसमा रुस र पाराग्वेबीच सोमबार मस्कोमा हुने मैत्रिपूर्ण फुटबल प्रतियोगिता पनि थियो ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved