पुस्तक समीक्षा

सत्ता राजनीति, नयाँ क्रान्तिको सङ्केत र ‘ब्रम्हास्त्र’ परीक्षण

डा. शर्माको तर्क छ— वर्तमान संविधानले राज्यका सबै क्षेत्रलाई दलीयकरणको जञ्जालमा बल्झाएको छ र समग्र देशलाई नश्लीय राजनीतिको कुचक्रमा फसाएको छ । दलतन्त्र र नश्लवाद देशका ठूला समस्या हुन् ।

सत्ता राजनीति, नयाँ क्रान्तिको सङ्केत र ‘ब्रम्हास्त्र’ परीक्षण

संस्कृतमा ‘ब्रम्हास्त्र’ शब्द अत्यन्त शक्तिशाली, विपक्षीको सर्वनाश गर्नसक्ने एक अन्तिम शस्त्रको अर्थमा प्रयोग हुन्छ । हिन्दू पौराणिक कथामा ब्रम्हास्त्रको चर्चा व्यापक छ । रामायण र महाभारत दुवै हिन्दू महाकाव्यमा युद्धमा योद्दाहरूले यो अस्त्रको प्रयोग गरेको वर्णन छ ।

महाभारतमा अर्जुनले यो अस्त्र आफ्ना गुरु द्रोणबाट प्राप्त गरेको प्रसङ्ग छ । आधुनिक भौतिक विज्ञानमा भने परमाणु बमलाई ‘ब्रम्हास्त्र’का रूपमा बुझ्न सकिन्छ । दोश्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु अस्त्र प्रयोग गरेको थियो । ती सहर पूर्णतः विनाश भए । दोस्रो विश्वयुद्ध अन्त्यको एक महत्त्वपूर्ण कारण पनि यही बन्यो ।

यहाँ चर्चा हुन गइरहेको विषय न त हिन्दू मिथ वा अन्य कुनै सांस्कृतिक समुदायसँग सम्बन्धित छ, न त कुनै भौतिक विज्ञानसँग नै । यहाँ ‘ब्रम्हास्त्र’ को अवधारणा मानवशास्त्री डा. कमलराज शर्माद्वारा लिखित ‘ब्रम्हास्त्र : स्थानिक अर्थराजनीतिक संस्कृतिक रूपान्तरणको सूत्र’ पुस्तकसँग सम्बन्धित छ ।

डा. कमलराज शर्मा त्रिवि मानवशास्त्र-समाजशास्त्र अध्ययन/अध्यापनको परिवेशभित्र कुनै नौलो नाम होइन । मानवशास्त्र समाजशास्त्रका स्तरीय पाठ्यपुस्तकको लेखनका माध्ययमबाट उनी स्नातक र स्नातकोत्तर पढ्ने विद्यार्थीका बीच सुपरिचित छन् । प्रस्तुत पुस्तकमा लेखकले ब्रम्हास्त्रको अवधारणालाई समकालीन नेपाली राजनीतिमा देखिएका यावत् समस्याको समाधानको एक निर्विकल्प वा भनौँ, अन्तिम प्राज्ञिक तथा राजनीतिक ‘अस्त्र’का रूपमा व्याख्या गरेका छन् । र, त्यसको निर्मम राजनीतिक प्रयोगको आवश्यकताका सम्बन्धमा निर्भयतापूर्वक आफ्ना कठोर विचार दिएका छन् ।

‘ब्रम्हास्त्र’ लेखकको व्यक्तिगत जीवन ग्रामीण कृषि परिवेशबाट प्राध्यापन र निजामती सेवाको उच्च तहको जागिरे अनुभवसम्म विस्तारित छ । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापन प्रारम्भ गरेदेखि राज्यको उपसचिवको पदमा २० वर्ष सेवामा रहेका अनुभूति छन् ।

तनहुँको एक समान्य कृषक परिवारमा जन्मिएर समकालीन स्थानिक र वैश्विक परिवेशमा जीवनका उतारचढाव सामना गर्दै लेखक उच्च शिक्षाका माध्ययमबाट जीवन परिस्थितिलाई बदल्ने अवस्थामा आइपुगे । समकालीन राजनीतिक परिवेशमा पञ्चायती निरङ्कुशताविरुद्ध स्थानीय परिवेशको सङ्घर्षका तीव्र परिस्थितिलाई सामना गरे । स्थानीक मतभेद, विमति, सङ्घर्ष, प्रतिरोध र हत्याका घटनाको साक्षी बन्न पुगे ।

तर, तमाम राजनीतिक मूल्य-मान्यताहरूको अवसानसँगै विकसित स्थानीय राजनीतिक परिवेश उनका लागि ग्राह्य भएन । ०४६ पछिको परिवर्तनपछि राजनीतिक अग्रमोर्चाबाट आफूलाई विभिन्न तवरले अलग्याउँदै आएका डा. शर्माको ‘ब्रम्हास्त्र’को परीक्षण भने पूर्णतः नेपाली राजनीतिक परिस्थितिमाथिको सशक्त बौद्धिक हस्तक्षेप मात्र होइन, देशको समाकालीन राजनीतिमा आमूल परिवर्तन ल्याउने अपेक्षासहित सुविचारित तवरले तयार गरिएको राजनीतिक दस्तावेज हो भन्नेमा द्विविधा छैन ।

प्रस्तुत पुस्तकमा समकालीन नेपाली आर्थिक र राजनीतिक प्रणालीका सम्बन्धमा लेखकको स्पष्ट दृष्टिकोण छ । हालको नेपाली आर्थिक प्रणालीलाई धेरै जसो बहसहरूमा ‘दलाल पुँजीवादी’ रहेको भन्ने व्याख्यासँग लेखक असहमत छन् । उनको तर्क छ— दलालवाद र पुँजीवाद फरक अवधारणा हुन् र दलालीकरण लोकतान्त्रिक पुँजीवादको चरित्र होइन (ब्रम्हास्त्र, पृ. ११६) ।

त्यस्तै वर्तमान राजनीतिक प्रणाली र अभ्यासका सम्बन्धमा पनि उनको दृष्टिकोण भिन्न छ । अहिलेको निर्वाचनको माध्ययमबाट हुने पात्रको परिवर्तनले प्रणालीमा रहेको खराबी हटाउन सक्दैन । यसका लागि प्रणाली नै फेर्नुपर्ने उनको तर्क छ ( ब्रम्हास्त्र, पृ. २३२) ।

यो निर्वाचन प्रणाली किन फेर्ने भन्ने सम्बन्धमा पुस्तकको जवाफ छ कि नेपालको आन्तरिक आर्थिक र राजनीतिक संरचना सीमित समूहको नियन्त्रणमा छ । यही कारणले गर्दा अर्थतन्त्र र राजनीति बाहिर फरक तर, आन्तरिकरूपमा एउटै गठजोडका दुईवटा रूप बन्न पुगेको छ ।

नेपाली समाजको शक्ति सम्बन्ध गठजोड वा शक्ति पिरामिडको आकार यही हो । यो गठजोडले राजनीतिमा आन्तरिक लोकतन्त्र र अर्थतन्त्रमा पुँजीको विकासलाई विध्वंस गरेको छ । नेपाली अर्थतन्त्र र राजनीति अनिश्चित, तरल, विचलित, विकृत र कुरूप अस्थिपञ्जरमा रूपान्तरण हुन पुगेको हो (ब्रम्हास्त्र, पृ १३८) ।

अनुभव, दृष्टान्त र तथ्यहरूको विवेचना गर्दै ३६ वटा अध्याय र ४२८ पृष्ठमा विस्तार गरिएको यस पुस्तकमा लेखकले नेपाली राज्य अभ्यासको एक कठोर चित्रलाई नयाँ र सचेत पुस्ताका अगाडि राखेका छन् । लेखकको घोषणा छ, सरकार, राजनीति, राज्यका यावत अङ्ग र नागरिकको राष्ट्रिय चेतना अवसानको अवस्थामा छन् र समग्रमा नेपाली स्थानिक राज्य मरणासन्न छ (ब्रम्हास्त्र, पृ. ४२४) । वास्तवमा लेखकको यही बुझाइ नै ‘ब्रम्हास्त्र’ लेख्नुपर्नाको मूल कारण पनि हो ।

पुस्तकमा लेखकले नेपाली समाजको अर्थराजनीतिक विश्लेषणलाई आन्तरिक र बाह्य गरी दुई पक्षमा किटान गरेका छन् । व्याख्या र विश्लेषण आधार पनि यही वर्गीकरण बन्न पुगेको छ । दुईमध्ये लेखकले देशको आन्तरिक पक्षको महत्त्वलाई बढी जोड दिएका छन् । लेखकले लोकतन्त्र, शक्ति पृथकीकरण, संसदीय अभ्यास र कानूनी शासनको अवलम्बनलाई एक उन्नत राज्यको अवस्थाका आधारभूत पक्षका रूपमा प्रस्तुत गरेका छन् ।

नेपाली राज्य अभ्यासलाई यस प्रकारको उन्नत अवस्थातर्फ अगाडि बढाउन किन सफलता मिलिरहेको छैन भन्ने सवालमा डा. शर्माको तर्क छ— वर्तमान संविधानले राज्यका सबै क्षेत्रलाई दलीयकरणको जञ्जालमा बल्झाएको छ र समग्र देशलाई नश्लीय राजनीतिको कुचक्रमा फसाएको छ । दलतन्त्र र नश्लवाद देशका ठूला समस्या हुन् ।

यस सन्दर्भमा उदाहरणको रूपमा पेश गर्दै न्यायपालिकाको महत्त्वलाई लेखकले विशेषरूपले उठाएका छन् । नेपाली राज्य अभ्यासमा सामर्थ्य र राज्यको आवश्यकताको प्रतिकूल हुनेगरी राजनीतिक कोटा र सिफारिसको आधारमा न्यायाधिशको नियुक्ति हुने विद्यमान अवस्थाले अदालती काम कारबाहीमा तजविजी अधिकारको व्यापक दुरूपयोग भइरहेको अनेक दृष्टान्तलाई पुस्तकमा समावेश गरिएको छ ।

लेखकको तर्क छ कि विद्यमान अदालतको संरचनालाई पूर्णतः रूपान्तरण र पुनःसंरचना गर्नु आवश्यक छ । त्यस्तै चालू संविधानलाई विस्थापन गरेर नयाँ संविधानको लेखन नगर्ने हो भने देशको अस्तित्वमा नै सङ्कट पर्ने खतरातर्फ संवेदनशील बन्न उनले आग्रह गरेका छन् । चालू राज्य अभ्यासविरुद्ध नयाँ राजनीतिक विकल्पको खोजी र जन्म जायज छ, स्वाभाविक छ भन्ने तर्क लेखकको छ (ब्रम्हास्त्र, पृ.४०३) ।

लेखकले भनेजस्तो विकल्पको आवश्यकतालई इतिहासले कसरी पूरा गर्ला त ? पुस्तकमा भनिएको छ— आजको नयाँ पुस्ताले एउटा दृढ सङ्कल्प गर्नु आवश्यक छ । त्यो सङ्कल्प भनेको आम नागरिकलाई पुनर्संगठित गर्ने हुनुपर्दछ । नागरिक असङ्गठित छन् र आपराधिक तप्काले सङ्गठित तवरले राज्यको आडमा नागरिकको शोषण गरिरहेका छन् (ब्रम्हास्त्र, पृ. ४२४) ।

यो परिस्थितिलाई चिन्ने र पर्दाफास गर्ने, नयाँ विकल्पको पैरवी गर्ने काम नयाँ पुस्ताले लोकतान्त्रिक मूल्य-मान्यता, सिद्धान्त, विधि-विधानमा आधारित गर्न पर्दछ । एकीकृत राजनीतिक संस्था र शक्तिको निर्माण गर्न एउटा नयाँ कार्यदिशा तय गर्नु आवश्यक छ (ब्रम्हास्त्र, पृ. ४२५) ।

लेखकको विश्वास छ, त्यही शक्तिको माध्ययमबाट स्थानिक विश्वमा टोटल मुभमेण्ट (समग्र आन्दोलन) को एउटा नयाँ परिस्थिति जन्मने छ र यही नै मरणासन्न अवस्थाको नेपाली राज्य प्रणालीलाई नयाँ जीवन दिने एकमात्र विकल्प हुनेछ (ब्रम्हास्त्र, पृ. ४२७) ।

समकालीन नेपाली नयाँ पुस्ताका बीचमा यो समयमा विभिन्न तवरका विकल्प र नयाँ प्रयत्न पनि जारी रहेका छन् । चालू अभ्यासलाई यथावत् राखेर, नयाँ दल तथा नयाँ उम्मेदवारको छनोटका विकल्पहरूको माध्ययमबाट नै हामी समग्र राजनीतिमा रहेका समस्या सम्बोधन गर्न सक्छौँ भन्ने विचार र धारणा अभिव्यक्त भइरहेको अवस्था पनि हाम्रो बीचमा विद्यमान छ ।

तथापि यी सबै विकसित परिस्थिति र विकल्पका बहस र प्रयत्नलाई एउटै कित्तामा धकेलेर विद्वान् लेखकले ब्रम्हास्त्रको निर्विकल्प प्रयोगको पक्षमा आफ्नो बलियो अभिमतलाई बडो निर्ममतापूर्वक अभिव्यक्त गरेका छन् । साथै वैचारिकरूपमा कम्युनिष्ट विचारधारा र आर्थिक रूपमा समाजवादका सम्बन्धमा पनि कठोरतम् शल्यक्रिया हामीले पुस्तकमा पढ्न सक्छौँ ।

यसबाहेक राज्य, राष्ट्र, राष्ट्रियता, नागरिकता, पहिचान, धर्म, सङ्घीयता, स्थानिक अर्थराजनीतिक प्रणाली, महिलावाद, प्रगतिशील वामपन्थ, साम्यवादलगायत अन्य कैयन् सैद्धान्तिक र व्यावहारिक अवधारणाका सम्बन्धमा लेखकका विचार पुस्तकमा समेटिएका छन् । विभिन्न तवरका वैकल्पिक राजनीतिको बहस विस्तार भइरहेको समकालीन नेपाली राजनीतिको वर्तमान चरणमा यी महत्त्वपूर्ण अवधारणामाथि लेखकको आलोचनात्मक दृष्टिकोण सम्बन्धित सबै पक्षले विचार गर्नुपर्ने विषय बन्न सक्छन् ।

साथै प्रस्तुत पुस्तकमा समकालीन राजनीतिमा विकास भइरहेको विचारधारात्मक विनिर्माण, देशको राजनीतिक नेतृत्वको क्षयीकरण र स्खलन एवम् देशको सार्वभौमिकतामा देखिएका चुनौतीसँग सम्बन्धित पछिल्लो पुस्ताका नविनतम् बुझाइलाई नयाँ कोणबाट व्याख्या गर्ने काम भएको छ ।

इतिहासका सम्बन्धमा आफ्ना सैद्धान्तिक अध्ययन र जीवन अनुभवलाई जोडेर हामीले जानेका कैयन् घटना दृष्टान्त र समाजको ठूलो तप्काको आस्था र विश्वास रहेका व्यक्ति र व्यक्तित्वप्रति समेत कठोरतम् फरक मत समेटिएका छन् । समकालीन नेपाली जनजीवन र राज्य सञ्चालनका विसङ्गतिलाई उदाङ्गो पार्दै पाठकलाई पटक-पटक उद्वेलित र भावुक बनाउन लेखक सफल छन् ।

नयाँ राजनीतिक विचारको विकास र नयाँ जागरणको अभियान, क्रान्ति वा परिवर्तन आदिको दिशा र गति एकिन गर्न समकालीन कुनै पनि समाज विज्ञानका विधा समर्थ छैनन् । तर, यसो भन्दैमा हामी कुनै पनि परिर्वतन वा क्रान्तिलाई इतिहासको नियमबाट अलग गरेर हेर्न पनि सक्दैनौँ ।

यस अर्थमा लेखकको प्रस्ताव नै के अबको नयाँ नेपाली राजनीतिक क्रान्ति र परिर्वतनको प्रस्थान बिन्दु बन्न सक्छ भन्न सकिन्न । तर, वस्तुगत विश्लेषणका केही आधार भने पुस्तकले दिन्छ । स्थानिक तथा वैश्विक परिवेशमा शक्ति सम्बन्धको निर्माण र विघटन कसरी भइरहेको छ ? यो बुझ्न मद्दत गर्दछ ।

आफूलाई नयाँ वा पुराना, वामपन्थी वा दक्षिणपन्थी, अग्रगामी वा सन्तुलनवादी कुनै पनि कित्तामा राख्न चाहने कुनैपनि खाले राजनीतिक साझेदारबाट अनेक बहानामा एकपछि अर्को गर्दै लोकतान्त्रिक आधारभूत मूल्य र मान्यतामाथि घात पुर्‍याउँदै सत्ताको भूमरीबाट बाहिर उम्कनै नसक्ने दुश्चक्रमा रुमल्लिएको काठमाडौंको समकालीन राजनीतिक परिदृश्यमा ‘ब्रम्हास्त्र’को प्रवेशले अवश्य पनि एउटा नयाँ विमर्श उद्घाटन गर्नेछ ।

­(लेखक त्रि-­चन्द्र क्याम्पसमा मानवशास्त्रका अध्यापक हुन् )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved