काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औं संस्करण शुक्रबार सुरू हुँदैछ । १० टोलीको सहभागिता रहेको यस टी-२० क्रिकेट फ्रेन्चाइज लिगले विश्वमै क्रिकेटको माहोल बनाउँछ ।
उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बेंगलुरूबीचको प्रतिस्पर्धासँगै ३४ दिनको क्रिकेट मेला सुरू हुँदैछ । चेन्नई र बेंगलुरू सवा ८ बजे आमनेसामने हुनेछन् ।
यसपटक उपाधि कसले जित्लाभन्दा पनि चेन्नई टिमको चर्चा चुलिएको देखिन्छ । बिहीबार चेन्नईले आफ्नो कप्तान परिवर्तनको घोषणा गर्दै हलचल मच्चाएको छ ।
चेन्नईले महेन्द्र सिंह ‘एम.एस’ धोनीलाई कप्तानबाट हटाएर ऋतुराज गायकवाडलाई नयाँ कप्तान नियुक्त गर्यो । सन् २०१९ मा क्लबमा आबद्ध भएका गायकवाडले सन् २०२० मा चेन्नईबाट आईपीएलमा डेब्यू गरेका थिए । सन् २०२१ को आईपीएलमा गायकवाड सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । यससँगै गायकवाडलाई भावी कप्तानको रूपमा लिन थालिएको थियो ।
साथै, गायकवाडलाई धोनीको पनि नजिकका खेलाडीका रूपमा लिइन्छ । ४२ वर्षीय धोनीको रोजाइमा पर्ने खेलाडीका रूपमा गायकवाडलाई चिनिने गरिएको थियो ।
सन् २०२३ को आईपीएलमा नै धोनीले कप्तानी गायकवाडलाई दिने सङ्केत दिएका थिए । गायकवाडले धोनीबाट कप्तानीबारे गत वर्ष नै सङ्केत पाएको आईपीएलसँगको संवादमा भनेका थिए ।
उनले भनेका थिए— गत वर्ष उनले कप्तानीबारे सङ्केत दिएका थिए । उनले केवल सङ्केत गरेका थिए । तयार हुनु । तिमी सप्राइज हुनु हुँदैन । म क्याम्पमा आएपछि उनले मलाई म्याच साइमुलेसनमा पनि समावेश गरेका थिए ।
मार्च ४ मा उनले आफ्नो फेसबूकमा आफू नयाँ सिजनको सुरुवात र नयाँ रोलको लागि आतुर भएको लेखेका थिए । पहिले यसलाई कुनै प्रायोजनको रूपमा लिइएको थियो । तर, बिहीबार बेलुकी त्यो आईपीएलमा उनको परिवर्तन हुने भूमिकाबारे प्रष्ट भयो ।
गायकवाडले धोनीको सो पोस्ट्पश्चात् सबैले आफूलाई सोधेको प्रश्न सम्झिए । उनले भने, “सबैले मलाई के तिमी नयाँ क्याप्टेन हो भनेर सोधेका थिए । जवाफमा मैले सामाजिक सञ्जालको लागि त्यो पोस्ट्को फरक अर्थ हुनसक्ने बताएँ ।”
धोनीले कप्तानी छोडेको यो पहिलो पटक भने होइन । सन् २०२२ मा पनि उनले कप्तानी छोडेका थिए । त्यस सिजनमा उनले रवीन्द्र जडेजाका लागि कप्तानी छाडेका थिए । तथापि, चेन्नईको त्यो योजना भने सफल हुन सकेन ।
सुरुवाती ८ मध्ये ६ खेलमा पराजित भएपछि धोनीले पुन: कप्तानी सम्हालेका थिए । त्यो सिजन चेन्नई पाँचौँ भएको थियो । त्यसपश्चात् चेन्नईको नेतृत्व चर्चाको विषय बन्दै आएको थियो ।
सन् २०२३ मा उनले पुनः कप्तानको जिम्मेवारी लिएका थिए । धोनीले सो सिजनमा चेन्नईलाई पाँचौँपटक जिताएका थिए । यससँगै चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जित्न सफल भयो ।
धोनीको कप्तानीलाई धेरै खेल पण्डितले प्रशंसा गर्ने गर्छन् । पूर्वअष्ट्रेलियन खेलाडी टम मूडीले क्रिकइन्फोसँगको अन्तवार्तामा भनेका थिए— धोनीलाई आईपीएलको उत्कृष्ट कप्तान भन्दा फरक नपर्ला । उनले औसत टोलीबाट उत्कृष्ट नतिजा दिएको पाइन्छ । गत वर्षको नतिजा पनि त्यसको नै एउटा उदाहरण थियो । कसैले सोचेको थिएन । उनले टोलीलाई, सबै खेलाडीलाई नै अपेक्षाभन्दा बढी एलिभेट गरेर देखाइदिए । शान्त स्वभावका धोनी अनपेक्षितरूपमा नतिजा देखाउन माहिर छन् ।
भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी वसीम जाफरले पनि धोनीलाई कल्ट लिडरको रूपमा पनि व्याख्या गरे । आफूसँग भएको खेलाडीबाट नै उत्कृष्ट प्रदर्शन गराएर ट्रफीसम्मको यात्रा तय गर्ने कप्तान भएको वसीमले बताए ।
सन् २०२० र २०२२ मा भने चेन्नई उत्कृष्ट ४ मा पर्न सकेन । आईपीएलको इतिहासलाई हेर्दा चेन्नईले १० पटक फाइनल खेल्यो । सन् २०१० देखि २०१३ को बीचमा भने चेन्नई लगातार ४ सिजनमा फाइनल खेलेको थियो । आईपीएलमा चेन्नईले खेलेको २४९ खेलमध्ये २३५ खेलमा धोनीले कप्तानको भूमिका निर्वाह गरेका थिए ।
सन् २०१९ विश्वकप क्रिकेटपश्चात् सन्न्यास घोषणा गरेका धोनीको गत वर्षको आईपीएल सहभागीतालाई धेरैले अन्तिम हुने अपेक्षा गरेका थिए । तर, धोनीले आफ्नो शरीरले साथ दिए फेरि एक सिजन खेल्ने बताएका थिए ।
जीतलगत्तै सन्न्यास घोषणा उचित समय भएपनि आफ्ना समर्थकका लागि अर्को एक सिजन खेल्ने इच्छा धोनीले व्यक्त गरेका थिए । गत सिजनपछि उनलाई खेलमा फर्किन भने त्यति सहज पक्कै थिएन ।
सन् २०२३ को पूरै सिजन उनको घुँडामा समस्या आइरहेको थियो । उनले फाइनललगत्तै घुँडाको सर्जरी पनि गरेका थिए । तथापि, गत महिना उनी चेन्नईको प्रि-सिजन क्याम्पमा सहभागी हुन सफल भए । यो सिजनको लिग चरणका खेलबाट सन्न्यास लिने धोनीले घोषणा गरिसकेका छन् ।
धोनीबाट आफूलाई सुम्पिएको जिम्मेवारीप्रति भने गायकवाड निकै उत्साहित छन् । आईपीएलको यात्रा चेन्नईबाट सुरुवात गरेको र धोनीले नेतृत्व सुम्पिएर देखाएको विश्वासप्रति आफू उत्साहित भएको गायकवाडले बताएका छन् ।
उनले धोनीलाई टोलीमा मेरूदण्डको रूपमा लिएको बताए । उनले टोलीमा कुनै परिवर्तन नगर्ने तर, खेलाडीलाई स्वतन्त्रता प्रदान गर्ने बताए ।
Facebook Comment
Comment