काठमाडौं । बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनुपर्ने टोलीमा २ जनालाई मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्वीकृति दिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुरोध गरेकोमध्ये टिम डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई सहभागिताका लागि स्वीकृति दिएको संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिए ।
एन्फाले सो छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो । ४१ सदस्यीय टोलीमा १० जना भने प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएले राखेपले एन्फालाई ध्यानाकर्षण गराइसकेको थियो ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा परिणाममुखी आवश्यक तयारी गरी सशक्त राष्ट्रिय टिम बनाउन जोड दिनुपर्नेमा आवश्यकता नै नदेखिएको क्षेत्रमा थप आर्थिक व्ययभार हुने अवस्था कुनैपनि कोणबाट सहि नभएकोले राखेपले १० जनाको स्वीकृति नदिएको हो ।
Facebook Comment
Comment